|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई स्वच्छ पिउने पानी र सरसफाइ थप व्यवस्थित बनाउन  निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालमा गरेको निरीक्षणका क्रममा ती अस्पतालमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ।

मन्त्री बस्नेतले उपत्यकाका वीर, शहीद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौंडा अस्पताल सहितका अस्पतालको अनुगमन गरेका थिए। यसका साथै अस्पतालहरूमा शल्यक्रियापश्चात् विरामी राख्ने वार्डमा उचित तापक्रमको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने मन्त्रालयले स्मरण गराएको छ। 

गर्मी मौसममा सर्पदंश, आगलागी, झाडापखाला, डेंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै विरामीलाई उपचार सेवा पुर्‍याउन सक्ने गरी आवश्यक औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पताललाई  निर्देशन दिइएको छ। 

गर्मीका वेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउन स्थानीय रेडियो, एफएम र पत्रपत्रिकामार्फत चेतनामूलक सूचना सम्प्रेषण गर्न समेत अस्पताललाई आग्रह गरिएको छ।

हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरी आमनागरिकको जीवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले मातहतका संघीय, प्रादेशिक र स्थानीय अस्पताललाई निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.