|

काठमाडौँ  : यसपालि नेपालका धेरैजसो ठाउँमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। केही ठाउँमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावा (लु) को लहर जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।

उनका अनुसार यो वर्ष जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३.८ डिग्री तापक्रम रेकर्ड भएको छ। सन् २०२३ को यो सबैभन्दा बढी मापन हो। यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६.४ डिग्री तापक्रम मापन भएको थियो। यो नेपालकै सबैभन्दा बढी मापन हो। यसपालि तराईका जिल्लाका साथै पहाडी क्षेत्रमा पनि विगत केही वर्षको तुलनामा रेकर्ड ब्रेक भएको पाइएको छ।

नेपालमा जेठ १६ गतेदेखि तापक्रम बढ्न थालेकोमा पछिल्ला तीन दिनदेखि भने तापक्रम ह्वात्तै बढेको छ। यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ। अहिले ती क्षेत्रका अधिकांश ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि रहेको छ। लुको लहर बढेपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही १९ गते पहिलोपटक तातो हावाको लहरसम्बन्धी  विशेष बुलेटिन जारी गरेर जानकारी गराएको थियो। त्यसपछि २४ गते अर्को बुलेटिन जारी गरेर सचेत गराएको थियो।

मौसमविद् कँडेलले सन् २०२३ को तापक्रम विश्लेणण गर्दा धेरै ठाउँमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’ भइसकेको बताइन्। नवलपुरको दुम्कौलीमा ४३.८ डिग्री ताफक्रम पुगेको र बुधबारसम्मको तथ्याङ्कमा यो रेकर्ड यो वर्षकै सबैभन्दा बढी मापन हो। दुम्कौलीमा भने पहिलोपटक ‘रेकर्ड ब्रेक’ भएको हो। यसअघि त्यहाँ सन् १९७९ मा ४३.७ डिग्री तापक्रम पुगेको थियो। उनका अनुसार तराईमा मात्रै होइन‚ पहाडी क्षेत्रमा पनि तापक्रमले ‘रेकर्ड ब्रेक’ गरेको छ।

ओखलढुङ्गामा सन् १९९९ मा सबैभन्दा बढी ३०.९ डिग्री तापक्रम रेकर्ड भएकामा यसपालि त्यहाँ पनि ‘रेकर्ड ब्रेक’ भएर ३१.९ डिग्री पुगेको छ। धरानमा सन् २०१३ मा सबैभन्दा बढी ३८.८ डिग्री तापक्रम मापन गरिएकामा यसपालि सन् २०२३ को जुन ७ (हिजो बुधबार) ३९.३ तीन डिग्री पुगेको थियो।

यस्तै इलामको कन्याममा सन् १९९३ मा २९ डिग्री रेकर्ड भएकोमा यसपालि यही ५ तारिखमा ३० डिग्री मापन भई ‘रेकर्ड ब्रेक’ भएको कँडेलले बताइन्। 

यसपालि मुलुकका सबैजसो भू-भागमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने अनुमान यसअघि नै सार्वजनिक गरिएको थियो। मनसुन १३ जुनमा प्रवेश गर्ने औसत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ। मनसुन अहिले भारतको केरल आइपुगेको छ। यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको मौसमविद्को भनाइ थियो। अर्की मौसमविद् बिनु महर्जनले नेपालको पूर्वी भेगमा आज केही मौसममा बदली भए पनि अन्य क्षेत्रमा तापक्रम बढी नै रहेको बताइन्।

उनका अनुसार यो समाचार तयार पार्दा कपिलवस्तुको तौलिहवामा ४२ डिग्री तापक्रम छ। यस्तै चितवनको रामपुरमा ४१.७, सिमरामा ४१.१, जनकपुरमा ४०.७ डिग्री तापक्रम छ। काठमाडौँमा हिजोको तापक्रम ३२.८ पुगेकामा अहिले ३१ डिग्री रहेको जनाइएको छ। विगतमा काठमाडौँमा ३६.६ डिग्रीसम्म तापक्रम रेकर्ड भएको अभिलेख छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराईमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको उल्लेख गरेको छ। विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने देखिन्छ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यो वर्षको मनसुन आउन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ। पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना देखिएको मौसमविद्ले बताए।

यस्तो हुनसक्छ असर

तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्छ।

तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी कम निस्कने‚ हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने चिकित्सक डा. पवनकुमार शाहले बताए।

लुको लहरका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पहिलोपटक छलफल गरेको छ। उक्त छलफलका सहभागीले अब शीतलहरका लागि पनि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राप्त सुझाव कार्यान्वयन गर्न आजदेखि आवश्यक तयारी थाल्ने र कार्ययोजना बनाएर लागू गर्ने प्रतिबद्धता जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.