|

म्याग्दी : समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किराको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्ताले खिन्न बनेका छन्।
विगत वर्षहरूको तुलनामा यस वर्ष म्याग्दी जिल्लामा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन्।

जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी नटीय क्षेत्रका किसानहरूले लगाएको मकै बालीमा रोग र फौजी किराको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कँडेलले बताए।

जिल्लाको लेकदेखि बेंसीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ। कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलबाट वार्षिक ३७ हजार ८ सय १७ टन मकै उत्पादन हुन्छ। यहाँबाट करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्ला जाने गर्छ।

‘म्याग्दी मकै खेतीमा आत्मनिर्भर छ तर यस वर्ष भने समयमै वर्षा नहुँदा र रोग किराको प्रकोप देखिएको हुँदा विगतको जस्तो उत्पादन हुँदैन कि भन्ने आशंका छ,’ कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए। उनले  खानाबाहेक बीउ मकै उत्पादन गरी बाहिर जिल्ला पठाइने गरेको जानकारी दिए।

जिल्लामा मकै खेती कुल ६० प्रतिशत खेती योग्य भूभागमा गरिएको कृषि ज्ञान केन्द्रको एक तथ्यांकले देखाएको छ। म्याग्दीको खेतीयोग्य भूभागमा मकै खेती प्रति हेक्टरमा ३ हजार २ सय ८० केजीका दरले उत्पादन हुने गर्छ।

जिल्लाको १६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना १, ३, देउती, सितला र उपल्लो क्षेत्रमा अरुण १, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेती गरिन्छ। पोसिलो मकै रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ।

त्यसैगरी उत्पादन राम्रो भए पनि राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले ‘गरिबका लागि’ भनी सिफारिस गरेको पोसिलो १ मकै कृषकले नरुचाएको कृषि प्राविधिकहरुको भनाइरहेको छ।

जिल्लामा उत्पादन भएको कुल मकै खेतीको ३७ हजार ८ सय, १७ मेट्रिक टनमध्ये २२ हजार ७ सय ८४ मेट्रिक टन मकै प्रशोधित तथा खानका लागि योग्य मानिन्छ।

कृषकहरूले समयमै मल र बीउ प्राप्त गर्न नसक्नु, समयमै वर्षा नहुनु र मकै हुर्कदै जाँदा रोग किराको प्रकोप देखिनुजस्ता कारणले यस वर्ष मकै उत्पादन घट्ने अनुमान कृषि प्राविधिकहरुको रहेको छ।

म्याग्दीमा मकै माघ–फागुनमा लगाई असारदेखि भदौसम्म थन्काउने गरिन्छ। हिउँदेबाली असोज र कात्तिक महिनामा लगाई फागुन र चैतमा थन्क्याउने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.