|

गुल्मी : २०७६ सालको अन्तिमबाट कोभिड महामारीले विश्व नै आक्रान्त बन्यो, नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। गुल्मीमा पनि कोभिडका बिरामी देखिए, दिनानुदिन तम्घासको चिदीचौरमा दिनकै तीनवटा हेलिकप्टरसम्म बिरामीको उपचारका लागि चितवन, काठमाडौं ओसारे। बिरामीको स्वाब परीक्षण गर्न बुटवल र काठमाडौंमा स्वाब पठाएको एक हप्तासम्म पनि परीक्षण रिपोर्ट आउन सकेन।

त्यसैलाई मध्यनजर गर्दै जिल्लामै कोभिड ल्याबको संचालन गर्नका लागि २०७७ साल जेठ ३१ गते जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले निर्णय गर्‍यो।

​बैठकमा प्रयोगशाला लागि आवश्यक उपकरण खरिद गर्न र जनशक्ति व्यावस्थापनको लागि प्रति नगरपालिका १५ लाख र प्रति गाउँपालिका १० लाख उपलब्ध गराउने सहमति भयो। 

तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पिसीआर मेसिनको जोहो गरी २०७७ साल असोज १ गते तामझामका साथ कोभिड परीक्षण प्रयोगशाला ल्याब उद्घाटन गरे। 

करिब  ५० लाखको पिसिआर मेसिनसहित प्रयोगशालाका सामग्रीहरु गरेर करिब एक करोड खर्च भयो। अहिले पिसिआर मेसिनसहितका स्वास्थ्य सामग्री प्रयोगविहीन भएर थन्किएका छन्।

दुई पटक गरेर प्रयोगशाला संचालनमै ७० लाखभन्दा बढी खर्च गरियो। प्रयोगशाला भएको भवनमा अहिले रेसुंगा नगरपालिका वडा नं ९ को वडा कार्यालय संचालन गरिएको छ।

अलपत्र आइसियु

​गुल्मी अस्पतालमा एक बर्षदेखि दुई वटा भेन्टिलेटरसहितको पाँच बेडको आइसियु यसै अलपत्र परेको छ।

कोभिड–१९ को बेला दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत बर्ष नै पूर्वाधार र उपकरण जडानको कार्य सकिए पनि एक बर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरण अलपत्र छ।

जिल्लावासीले उपचार गर्ने अस्पतालमा बर्षौंदेखि विशेषज्ञ जनशक्ति व्यवस्थापन नहुँदा भेण्टिलेटरसहितको आइसियु उपयोग नभएर धुलाम्मे बनेका छन्।

यता अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले कोभिड सकिएपश्चात ल्याब प्रयोगमा नआएको स्वीकार गरे। पछिल्लो समयमा पिसीआर खर्चिलो भएको र त्यसको कार्य एन्टिजेन परीक्षणबाट सरल, सहज र कम खर्चमा हुने भएकाले ल्याबको उपयोग नभएको बताए।

आइसियु संचालनमा भने दक्ष जनशक्ति नहुँदा त्यसको संचालन हुन नसकेको पाण्डेको भनाई छ। 

गुल्मी अस्पतालमा स्थायी दरबन्दी ५९ जनाको हो तर अहिले १७ जना मात्र स्थायी दरबन्दी र फाजिलका जनशक्ति अस्पतालमा कार्यरत छन्। अस्पतालमा विशेषज्ञ डाक्टरहरुको १० स्थायी दरबन्दी छ तर स्थायी दरबन्दीमा विशेषज्ञ डाक्टर एक जना मात्रै छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.