|

धनगढी : कैलालीको गौरीगङ्गा नगरपालिका- १ स्थित केदारेश्वर सामुदायिक वनमा जेठ १९ गते एक युवती मृत फेला परिन्। ती युवती २७ वर्षीया कविता बुढा थिइन्। उनी विवाहित महिला हुन्। तर उनका श्रीमानले दोस्रो विवाह गरेर कान्छी पत्नीसहित भारतमा बस्दै आएका छन्। मृतक कविताका दुई जना छोराछोरी रहेका छन्। उनी यहाँ घरमा सासु ससुरा र देउरानीसँग बस्दै आएकी थिइन्। 

बुढाका परिवारले उनी हराएको भन्दै गत साताको सोमबार खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। तर उनको हत्या परिवारकै सदस्यले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरी स्रोतका अनुसार उनको लास वनमा ८ फिट ४ इन्च गहिराइ भएको सुक्खा नालामा खाल्डोमा गाडेको अवस्थामा अवस्थामा फेला परेको थियो।  प्रहरी अनुसन्धानबाट उनै सासू-ससुराले मिलेर उनको हत्या गरेको खुलेको हो।

सो घटनाको प्रारम्भिक अनुसन्धान सकिएको भन्दै कैलाली प्रहरीले घटनामा संलग्न ३ जना आरोपितलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउदले कविताको सासू- ससुराबाट नै हत्या भएको खुलेको जानकारी दिए। सोही अनुरूप घटनाका आरोपित गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्लीसिंह बुढा (मृतककी ससुरा), उनकी पत्नी ५० वर्षीया लहरी बुढा (सासू) र भजनी नगरपालिका- ४ बस्ने ४१ वर्षीय जयवीर बुढालाई पक्राउ गरेर सार्वजनिक गरिएको हो। जेठ १८ गतेको रात करिब  ९ बजेको समयमा आफ्नै घरको भान्साकोठामा मृतक कविता रोटी पकाइरहेकी थिइन्।

प्रहरीका अनुसार सोही क्रममा (ससुरा) डिल्लीले उनलाई पछाडिबाट टाउकोमा चिर्पट (दाउरा) ले हिर्काई हत्या गरेका थिए। त्यसपछि डिल्ली र उनकी पत्नी (लहरी) ले मिलेर हत्यापश्चात्  लासलाई डोकोमा हाली घरभन्दा अन्दाजी ३ किलोमिटर टाढाको केदारेश्वर सामुदायिक वनमा लगी  खाल्डो खनेर लासलाई गाडेका थिए। त्योसँगै उनीहरूले मृतकका रगत लागेका कपडा, फरुवा र डोको पनि सोही खाल्डोमा पुरेका थिए।

हत्याअघि घरमा कवितासँग लहरी र डिल्लीको झै-झगडा हुने गर्दथ्यो। घटनापूर्व पनि डिल्लीले घरको काम नगर्ने, आफूखुसी गर्ने भन्दै विवाद झिकेका थिए।

हत्यापछि डिल्लीले घटना ढाकछोप कविता हराई भन्दै प्रहरी कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि उनी कञ्चनपुरको बीचफाँटा आफन्तको घरमा बसेका थिए। त्यहाँ बस्न उनलाई जयवीरले सहयोग गरेका थिए। पछि अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएपछि कविताका माइती भाइ पराने बुढाले इलाका प्रहरी कार्यालय चौमालामा निवेदन दिएका थिए। त्यसपछि प्रहरी अनुसन्धानका क्रममा कविताको हत्या भएको खुलेको थियो। त्यसपछि जेठ २३ गते कविताका दाजु राम बहादुर बुढाले किटानी जाहेरी दरखास्त पेस गरेपछि लहरी (सासू) लाई पक्राउ गरी कैलाली अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य प्रारम्भ गरिएको थियो।
त्यसपछि डिल्ली (ससुरा) को खोजतलासका क्रममा उनको अन्तिम लोकेशन कञ्चनपुरको परासनमा देखिएको थियो। त्यसपछि प्रहरीले डिल्लीलाई पक्राउ गरेको थियो। त्यतिन्जेल उनलाई लुक्नमा सहयोग गर्ने  जयवीरलाई गत बुधबार  पक्राउ गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.