काठमाडौं : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा वित्तीय साक्षरतासम्बन्धी एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताएका हुन्।
उनले वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताए। यस्तै, राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंकभित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि आवश्यक जानकारी नभएको बताए।
गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताए। कारोबारलाई पारदर्शी बनाउने भएकोले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन अनुरोध गरे। आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भए पनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताए।
उद्योगी व्यवसायी, बैंक, व्यवसाय तथा सर्वसाधारण सबैको मनोबल कमजोर भएकोले सरकार र राष्ट्र बैंकले ठोस कार्यक्रम ल्याएर वातावरण बनाउनुपर्ने बताए।
अहिले नै पहलकदमी लिएर काम अगाडि बढाउन नसके पछुताउनुपर्ने दिन आउने पनि बताए। अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले अग्रसरता लिन आर्थिक गतिविधि चलायमान बनाउन ढिलो गर्न नहुने बताए।
अध्यक्ष ढकालले पछिल्लो समय बैंकबाट लिएको ऋण तिर्दिनँ भन्ने समूहले फैलाएको नकारात्मक सन्देशले बैंकप्रति नकारात्मक धारणा र अराजकता बढेकोले सबैले सामूहिक रूपमा यस्ता क्रियाकलापलाई निस्तेज पार्नुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।