काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेका हुन्।
उनीहरूले निर्वाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए।
उनीहरूले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग पनि गरेका छन्। महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने पनि बताए।
उनले ट्रक यातायातमा ४७ वटा मुख्य मुख्य रुटहरूको भाडादर निर्धारण गरेको र त्यो प्रभावकारी नभएको बताए। भाडाको कार्यान्वयन र त्यसको अनुगमन प्रभावकारी बनाउन आग्रह गरे। उनले सहज ढंगले दुर्घटना निकासको सुनिश्चितता, घाईतेको उपचार व्यवस्था, कानूनसम्मत भारवहन कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने बताए।
महासंघले राहतजन्य कार्यहरुको व्यवस्थापन,राजश्व चेकजाँचको बेला ट्रकमा भएको सामान र त्यससँग सम्बन्धित कागजातबीच कुनै किसिमको तालमेल नमिलेको वा सो समब्न्धी विषयमा शंका लागेमा ट्रकलाई महिनौँसम्म थुन्ने, सामान जफत गर्ने सम्बन्धित ऐनहरूमा संशोधन गर्न माग गरेको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।