एउटै खेलमा ५९ स्कोर गरेका आशिषको कीर्तिमान

|

ललितपुर : आशिष थापा मगरको उत्कृष्ट प्रदर्शनसँगै तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मेगस इङलिस स्कूलले जित दर्ता गरेको छ।  

पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा चलिरहेको प्रतियोगितामा आइतबार सम्पन्न पहिलो खेलमा मेगसले राराहिल मेमोरियल स्कूललाई १४ स्कोरको अन्तरले पराजित गरेको छ। 

पुष्पसदनको बास्केटबल कोर्टमा सम्पन्न खेलमा मेगसले ६२ स्कोर गर्दा पराजित राराहिलले ४८ स्कोर गर्न सक्यो। खेलमा मेगसका आशिष थापा मगर एक्लैले सर्वाधिक ५९ स्कोर गरेका छन्। एकै खेलमा यतिका स्कोर गर्ने जारी प्रतियोगिताकै आशिष कीर्तिमानी खेलाडी बनेका छन्।  

तेस्रो संस्करणको पुष्पसदनको बास्केटबल प्रतियोगिता अन्तर्गत नै आइतबार सम्पन्न अन्य खेलमा रेडियन्ट पब्लिकका दुबै टिम, आयोजक पुष्पसदन, रेडियन्ट पब्लिक, जनसेवा, स्वर्णिम र आइएमएस स्कूल विजयी भएका छन्। 

जुनियर ब्वाइजतर्फ जनसेवा स्कूलले राराहिललाई १०–५ को अन्तरमा हराएको छ। विजेता जनसेवाका लागि सबै १० स्कोर लुजा मर्हजनले गरे। उनी नै खेलको सर्वाधिक स्कोरकर्ता बने। 

यस्तै जुनियर ब्वाइजतर्फको अर्को खेलमा रेडियन्ट पब्लिकले ग्रिनफिल्ड स्कूललाई २६–९ को स्कोरमा पाखा लगाएको छ। यो खेलमा रेडियन्टका रिबुस सर्वाधिक स्कोरकर्ता बने। उनले ७ स्कोर गरेका थिए। 

यसैगरी सिनियर ब्वाइजतर्फ आयोजक पुष्पसदनले एलआरआई स्कूललाई २३–१९ को स्कोरमा पराजित गर्‍यो। सो खेलमा पराजित एलआरआईका मन्दीप गुरागाईंले सर्वाधिक १३ स्कोर गरे।

सिनियर ब्वाइजतर्फ नै रेडियन्ट पब्लिक स्कूलले ज्ञानोदय स्कूललाई ५४–४९ स्कोरले हराएको छ।​ रेडियन्टका लागि लमिक योञ्जनले सर्वाधिक २४ स्कोर गरे।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फकै अर्को खेलमा स्वर्णिम स्कूलले मंगल माविलाई २४–१४ स्कोररले हराएको छ। खेलमा स्वर्णिम स्कूलका रोजितले सर्वाधिक ९ स्कोर गरे। 

अर्को खेलमा आइएमएस स्कूलले हिलटाउनलाई २४–११ को अन्तरमा हरायो। आइएमएसका नेल्सन श्रेष्ठले सर्वाधिक ७ स्कोर गरे। 

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ २४ टिम गरी जम्मा २५ वटा विद्यालय सहभागी भएका छन्। आगामी असोज ८ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ। 

प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी‚ मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.