|

जनकपुरधाम : जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई निर्णायक शक्ति बनाउनुपर्नेमा जोड दिएका छन्।

जसपा मधेश प्रदेश समितिले आइतबार जनकपुरधाममा आयोजना गरेको संगठन विस्तार अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यसको लागि संगठन सुदृढ बनाउनमा जुट्नको लागि कार्यकर्ताहरुलाई निर्देशन दिए।

अध्यक्ष यादवले जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ, –चाहे त्यो आन्दोलनबाट होस् वा संसदीय प्रणालीबाट पार्टी निर्णायक शक्ति नहुँदासम्म समावेशीमा देखिएको समस्या समाधान नहुने भएकाले सबै नेता तथा कार्यकर्तालाई संगठन सुदृढ गर्नमा जुट्नको लागि आग्रह गरे।

मनमनमा जसपा, घरघरमा जसपा नाराका साथ थालिएको संगठन विस्तार अभियानलाई गाउँ गाउँ र टोलटोलसम्म पुर्याउनुपर्ने बताए।

जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने जिम्मेवारी जसपाको रहेको बताए।

कांग्रेस र कम्युनिष्ट पार्टीले संघीयता संस्थागत हुन दिन नचाहेको दाबी गर्दै उनले यो जिम्मेवारीसमेत जसपामा आएको तर्क राखे।

मिसन २०८४ को तयारीमा जुट्नको लागि आह्वान गर्दै उहाँले पार्टीका लागि काम गर्नुका साथै जनतामाझ लोकप्रिय नेता कार्यकर्ताले अवसर पाउने जानकारीसमेत दिए।

सो अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयताविरोधी तत्वहरु सल्बलाइरहेको जिकिर गर्दै यसतर्फ सबैलाई सचेत हुनको लागि आग्रह गरे।

प्रदेश सरकारले उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गरेर प्रदेशवासीलाई सरकारको अनुभूति गराउने विश्वास मुख्यमन्त्री यादवले दिलाए।

मुख्यमन्त्री यादवले २०७९ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसितको गठबन्धनले गर्दा पार्टीले क्षति व्यहोर्नुपरेको जिकिरसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.