|

काठमाडौं : संविधान दिवस २०८० का अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा राज्यका प्रमुख अङ्गहरु न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकाका प्रमुखहरुको धारणा श्रव्यदृश्य सामग्रीमार्फत प्रस्तुत गरिएको थियो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्र निर्माणमा संस्कृति र संस्कृतिकर्मीहरुको भूमिका उल्लेख्य रहेको बताए।

त्यस अवसरमा श्रव्यदृश्य सामग्रीमार्फत नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संक्षिप्त परिचयसमेत प्रस्तुत गरिएको थियो।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माको सभापतित्व तथा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुदन किरातीले संस्कृति जीवन बाँच्ने माध्यम भएको बताउँदै संस्कृतिको संरक्षण गर्न पहिला संस्कृतिको जरासम्म पुग्नुपर्ने बताए।

मन्त्री किरातीले विचार संस्कृतिको उपज भएकाले नेपालको छवि अन्तरराष्ट्रिय मञ्चमा पुर्‍याउन मौलिक किसिमको गीत‚ सङ्गीत तथा कलाको सिर्जनामा लाग्न सर्जक तथा संस्कृतिकर्मीलाई सुझाव दिए।

कार्यक्रममा कुलपति शर्माले संस्कृति जोगाउनु सबैको दायित्व भएको बताउँदै राज्यका अङ्गहरुले सहयोग गर्नुपर्नेमा जोड दिइन्।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तामछलीले संस्कृति र संस्कृतिकर्मीका विषयमा राखिएको यस किसिमको कार्यक्रमले जनतामाझ संस्कृतिको परिचयका साथै समाज निर्माणमा संस्कृतिकर्मीको भूमिका र संस्कृतिका नाममा सामाजिक विकृतिलाई उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले कार्ल मार्क्सको भनाई उदृत गर्दै मानिस एक सांस्कृतिक प्राणी भएकाले संस्कृति श्रमद्वारा सिर्जना गरिएको दोस्रो प्रकृति हो भने। संस्कृति मानिसलाई बाँच्नका लागि निर्देशन गर्ने निर्देशक सिद्धान्त पनि भएको उनले बताए।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे। उनले संस्कृति र संस्कृतिकर्मीहरुको संरक्षण र संवर्द्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा ‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ विषयमा सामाजिक अभियन्ता युग पाठक, वरिष्ठ समालोचक निनु चापागाईं तथा वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवालीले आफ्ना भनाई राखेका थिए।

कार्यक्रममा आफ्ना भनाई राख्दै वक्ताहरुले संस्कृति भनेको गीत, सङ्गीत, धर्म मात्र नभएर मानिसको चिन्तन शैली, खानपान, जीवनशैली, आचरण, परम्परा, आस्थालगायत सबैको संमिश्रण भएको बताए।

नेपालको संस्कृतिलाई समयानुकूल बनाइ यसको संवर्द्धन, संरक्षण, प्रवर्द्धन र पुस्ता हस्तान्तरणका लागि राज्यले राष्ट्रिय संस्कृति नीति बनाउनुपर्नेमा जोड दिइएको थियो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवं नृत्य विभाग प्रमुख बखतबहादुर हमालले सञ्चालन गरेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, प्राज्ञ परिषद सदस्यहरु, प्राज्ञ सभा सदस्यहरु, सांस्कृतिक संस्थानका महाप्रबन्धक, पूर्व प्राज्ञ परिषद सदस्यहरु, पूर्व प्राज्ञ सभा सदस्यहरुलगायत सङ्गीत, नृत्य, नाटक, साहित्य क्षेत्रका स्रष्टा सर्जकहरुको उल्लेख्य उपस्थिति रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.