काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औँ एशियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियललगायत र बक्सिङ खेलमा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन्।
खेलाडीलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरिएको हो।
असोज ६ देखि २१ गतेसम्म चीनको हाङचाउ शहरमा सञ्चालन हुने एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन वन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागी हुने एपीएफका ४ जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाइ गरिएको हो।
बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी सम्पूर्ण खेलाडीबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नका साथै राष्ट्र र समग्र जनताले खेलाडीबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको बताए।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष विश्व बम मल्ल तथा सङ्घका अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।