|

जनकपुरधाम : राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयनप्रति आफू निकै गम्भीर रहेकाे बताएका छन्।

आज सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीयलाई ठोस ढङ्गले कार्यान्वयन गर्न राजनीतिक दलसँग पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

तिरहुतिया गाछीस्थित नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटनपछि आयोजित नागरिक अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश र स्थानीय तहलाई अधिकार बाँडफाँड गरी संघीयताको मर्मानुसार मिलाउनुपर्ने आवश्यकता रहेको औँल्याए।

उनले राजनीतिक दलका शीर्ष नेतृत्वसमक्ष संघीयताको संरक्षण र सम्वर्द्धनका लागि तत्काल अधिकार बाँडफाँड गरी जनतालाई संघीयताको अनुभूति दिलाउन पहल गर्ने पनि बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चाहेमा संघीयता कार्यान्वयनले ठोस गति दिने पनि उनको भनाइ थियो।

मुख्यमन्त्री सरोजकुमार यादव, धनुषा–३ की प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री जुलीकुमारी महतो, पूर्वमन्त्री विमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन गरेका थिए।

बिहान जनकपुरधाम आइपुगेका राष्ट्रपति पौडेलले जानकी मन्दिरमा ४० मिनेटसम्म दर्शन तथा पूजाअर्चना गरेका थिए भने मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले भेटघाट गरेका थिए।

जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमबार नागरिक अभिनन्दन गरिएको हो।

राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दनपत्रमा मैथली भाषा प्रयोग गरिएको छ। राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गरी ठूलो समस्या समाधान गरेको भन्दै प्रशंसा भएको थियो। नागरिक अभिनन्दनका क्रममा राष्ट्रपति पौडेलसमक्ष जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा पार्नका लागि आवश्यक पहल गर्न पनि आग्रह गरिएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.