जनकपुरधाम : राष्ट्रिय जनावर गाईको देशव्यापी हत्या भइरहँदा पनि सरकारले कानुन बमोजिम कारबाही नगरेको भन्दै साधुसन्तहरूले जनकपुरधाममा प्रदर्शन गर्ने भएका छन्।
बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी जानकी मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णवले मुलुकमा शृंखलाबद्ध रूपमा गाईको हत्या भइरहेकोमा ध्यानाकर्षण भएको जनाउँदै विरोध प्रदर्शनको तयारीमा जुटेको बताए।
महन्त वैष्णवले यसका लागि यही असोज १२ गते शुक्रवार जनकपुरधाम विरोध प्रदर्शन गरिने समेत बताए।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले शृंखलाबद्ध रूपमा गौहत्या भइरहँदा पनि राज्यले राष्ट्रिय जनावर समेत रहेको हिन्दु धर्ममा पूज्य गाईलाई राज्यले बेवास्ता गरेको आरोप लगाउँदै कडा आन्दोलन गर्ने जनाएका छन्।
धरानदेखि खोटाङसम्म हत्या हुँदा पनि सरकारले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै तत्काल आन्दोलन गर्ने चेतावनी महन्त दासले दिए।
उनले भने, ‘मुलुकमा गौहत्या भइरहँदा पनि सरकारले कानमा तेल हालेर सुतेकाले यही असोज १२ गते शुक्रबार जनकपुरधाममा गौहत्याको विरोधमा विरोध प्रदर्शन गर्दै छौँ।’
शुक्रबार जनकपुरधाममा हुने विरोध प्रदर्शन सचेत गराउने कार्यक्रम भएको बताउँदै सरकारले बेवास्ता गरे कडा आन्दोलन गर्ने उनले चेतावनी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।