जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय रहेको बताएका छन्।
बिहीबार जनकपुरधाममा इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मदिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरूले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सामाजिक सद्भाव बिगार्नेहरू र संघीयता विरोधीहरूबाट अहिले सचेत हुनु आवश्यक रहेको समेत बताए।
मुख्यमन्त्री यादवले पछिल्लो समय मधेश प्रदेशमा सामाजिक सद्भाव बिगार्ने गरी क्रियाकलाप बढिरहेको समयमा मुख्यमन्त्री यादवले यो क्रियाकलापमा संघीयता नचाहनेहरू सक्रिय रहेको आरोप लगाए।
संसारको कुनै शक्ति संघीयताको विरोधमा लागे पनि संघीयता खारेज नहुने मुख्यमन्त्री यादवको उनको भनाइ थियो। मुख्यमन्त्री यादवले प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेविरुद्ध कारबाही गर्न नसकेको गुनासो गरे।
संघीय सरकारले त्यस्ता तत्वहरूलाई कानूनी दायरामा नल्याएकाले त्यस्ता तत्त्वहरूको मनोबल उच्च हुँदै गइरहेको मुख्यमन्त्री यादवले बताए।
सामाजिक सद्भावमा आँच पुर्याउनेहरूविरुद्ध कुनै कारबाही नगरिरहेकाले संघीय सरकार आफै संघीयताविरोधी रहेको मुख्यमन्त्री यादवको आरोप छ।
कार्यक्रममा नेकपा एमालेकी नेतृ एवं पूर्वमन्त्री जुली महतोले पैगम्बर मोहम्मदले जीवनपर्यन्त सामाजिक सद्भाव तथा भाइचाराको सन्देश दिएकाले उनले देखाएको बाटो अनुसरण गर्न आग्रह गरिन्।
उनले सम्पूर्ण इस्लाम धर्मावलम्बी पैगम्बर साहबले देखाएको बाटो मात्रै अनुसरण गरे उनको जन्मदिवसले सार्थकता पाउने नेतृ महतोको भनाइ थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।