|

विराटनगर :  नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन प्रदेशको राजधानी विराटनगरमा सुरु भएको छ।

आजै अर्थात् शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका छन्।  अधिवेशनबाट नेतृत्व चयनको तयारी  भइरहँदा  सर्वसम्मत  चयन गर्ने वा  प्रतिस्पर्धा हुने भन्ने छलफलको विषय बन्दै गइरहेको छ।   कोशी प्रदेशको  अध्यक्षमा यतिबेला मोरङका दुईजना नेताहरू विनोद ढकाल र घनश्याम खतिवडाको नाम चर्चामा रहेको छ। 

उनीहरू दुईबीच प्रतिस्पर्धा हुने एमालेकै नेताकार्यकर्ताहरूको भनाइ छ। स्रोतका अनुसार  अध्यक्ष ओलीले खतिवडालाई कोशी प्रदेशको अध्यक्ष बनाउने तयारीमा रहेका छन्। भने, यता विनोद ढकाल संविधानसभा अध्यक्ष स्वर्गीय सुवास चन्द्र नेम्वाङनिकट मानिन्थे। 

उनका अनुसार  नेम्वाङको मृत्यु हुनु अगाडि ढकालले टेलिफोनमार्फत सम्पर्क गर्न खोजेको तर आफू बिरामी भएका कारण बिहान कुरा गर्ने भनाइसहित फोनमार्फत बिदा भएका नेम्वाङ सधैँका लागि अस्ताए। जुन संवाद नेम्वाङको ढकालसँग अन्तिम रहेको  हुनसक्ने  ती नेताको दाबी छ।

 तत्कालीन समय माधवकुमार नेपालनिकट रहेको खतिवडालाई विद्यार्थी अवस्थादेखि नै ओली समूहमा सक्रिय रहँदै आएका ढकालले टक्कर दिने भएका छन्। एमाले मोरङको पाँचौँ अधिवेशनमा नेपाल समूहबाट उम्मेदवार बनेका खतिवडालाई ढकालले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए।

त्यसो त अध्यक्षका आकांक्षीमा हालका प्रदेश अध्यक्ष संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई केन्द्रीय सदस्य बनाएर खतिवडाको समर्थनमा उभ्याउने प्रयास भइरहेको  बुझिएको छ। अध्यक्षको आकांक्षा राख्दै आएका हाल उपाध्यक्ष रहेका धनकुटाका टिकाराम चेम्जोङलाई पुनः उपाध्यक्ष बनाउन नेताहरूले लबिङ गरिरहेका छन्। यदि न्यौपाने र चेम्जोङपछि हटे ढकाल र खतिवडा  प्रतिस्पर्धाको मैदानमा रहने देखिएको छ।

स्थायी समितिका सदस्यहरू अग्नि खरेल, भानुभक्त ढकाल, गुरु बराललगायत नेताहरू खतिवडाको पक्षमा उभिएका छन् भने  प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्य भने ढकालको पक्षमा खुलेको एमालेका एक केन्द्रीय सदस्यले बताए।

ढकाल पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट रहेको चर्चा हुने गरेको छ। सोही कारण पनि अध्यक्ष ओलीसँगको सम्बन्ध चिसिएको भन्ने गरिन्छ। केही समय अगाडि एमाले नेता कर्ण थापाले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउनुपर्ने अन्तरवार्ता दिएपछि ओली मात्र नभएर सिंगो एमाले नै तरंगित भएको थियो।

संसदीय राजनीतिमा लगातार पराजित रहेका उनका समकालीनहरू अधिकांश मन्त्री, मुख्यमन्त्री मात्र भएका छैनन्, पार्टीको स्थायी समिति र पोलिटब्युरोसम्म पुगिसकेका छन्। तर, हक्की स्वभावका ढकाल भने आफ्नै पार्टीभित्र अवसरबाट वन्चित रहको नेताको रूपमा पनि चिनिन्छन्। उनी पार्टीको केन्द्रीय सदस्य मात्र छन्।

त्यसो त ढकालले अध्यक्ष ओलीलाई पार्टीभित्र अल्पमतमा रहेको संकटपूर्ण अवस्था पनि साथ दिएका छन् भने ओलीका कमजोरीको उनकै अगाडि पनि आलोचना गर्ने गरेका छन्। उनको हक्की स्वभावले पनि ओलीले पछिल्लो समयमा उनलाई कर्नरमा पार्दै लगेको एमालेजनको बुझाइ छ।

प्रदेशका अन्य नेताहरू शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकालसँग विद्यार्थी राजनीतिका समकालीन भए पनि उनीहरू स्थायी समिति सदस्य बन्दा ढकालले पोलिटब्युरो सदस्य सरहको प्रदेश अध्यक्षको आकांक्षा राखेका छन्।  अध्यक्ष ओलीको साथ पाउन ढकालले प्रयास गरेका थिए। तर, ओलीले संकेत नदिएको बताइन्छ।

अध्यक्ष ओलीले नेतृत्वका लागि अघि बढ्न कुनै संकेत नदिएको भए पनि  प्रदेश अध्यक्षको तयारी अगाडिदेखि नै गरेकाले उनी  ब्याक हुने अवस्था नरहेको नेताहरू बताउँछन्।  सुवासचन्द्र नेम्वाङको मृत्युपछि ढकालको पक्षमा कुनै पनि नेताहरू खुल्न सकेका छैनन्। तर, स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीको सद्धभाव रहेको छ।

खतिवडा पूर्वसांसद तथा एमालेका पुराना नेता हुन्। पार्टीको नवौँ केन्द्रीय महाधिवेशनअघि नेपाल पक्ष छाडेर खतिवडा ओलीतिर लागेका थिए।

प्रदेश अधिवेशनका लागि ९९७ जनप्रतिनिधि छनोट भएर आइसकेका छन्। थप ५० जना मनोनयन गर्न बाँकी छ। मनोनयन गर्ने कि नगर्ने भन्ने विवादको कारण निर्णय हुन सकेको छैन। कमिटी अध्यक्ष तुलसी न्यौपानेले मनोनयन गर्ने ५ प्रतिशतबारे छलफल भइरहेको बताए।

प्रदेश अध्यक्ष न्यौपानेले अधिवेशनले सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने बताए। सर्वसम्मतको प्रयास असफल भए निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुने उनले बताए। अध्यक्षका आकांक्षीले नै खुलेर आफ्नो उम्मेदवारीबारे नबोलेको कारण अन्य पदाधिकारीको आकांक्षा राख्नेहरू पनि मौन छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.