|

ललितपुर : राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको संयुक्त आयोजनामा `तस्वीरमा ज्येष्ठ नागरिक´ फोटो प्रदर्शनी गरिएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरूको तस्वीर प्रदर्शनी गरिएको हो।

प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए।
उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे।

उनले भने, ‘ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि जाने बुझे जतिकाम गरिरहेको छ। अझै पुगेको छैन। त्यसको लागि तपाईहरूसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं।’

उनले प्रदर्शनीमा राखिएका तस्वीरहरू एकदमै राम्रो लागेको भन्दै प्रदर्शनको सफलताको कामना गरे।

कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी  राखिएको कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले बताए। प्रदर्शनीमा राखिएको तस्वीरहरूले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरूमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

फोटो प्रदर्शनीमा देशभरका ४० फोटो पत्रकारले खिचेका ६२ ओटा फोटो राखिएको कार्यक्रम संयोजक गणेश विष्टले जानकारी दिए।

राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरूमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरू प्रदर्शनी आयोजना गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.