मानेभञ्ज्याङ (भारत) : सातौं मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले विजयी सुरुवात गरेको छ।
प्रतियोगिताको उदघाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो। जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे।
धरानका पदम भट्टराईले सान्त्वना गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ४ गोल भएको हो। दुवै टिममा शहीद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरुको बाहुल्यता रहेको थियो।
प्रतियोगिताको दोश्रो प्रि–क्वार्टरफाइनल खेलमा रेड हर्स इलाम र चाँद एफसी तीनधारेबीच प्रतिस्पर्धा हुनेछ।
यही असोज २८ (अक्टोबर १५) गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख (भारु ५ लाख) र उपविजेताले ४ लाख (भारु २ लाख ५० हजार) रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन्। मानेभञ्ज्याङ फुटबल क्लबले केही वर्षयता अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।