|

संखुवासभा : संखुवासभा जिल्लामा डेँगुका बिरामीको संख्या ११ सय नाघेको छ। 

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले साउनयता जिल्लामा डेँगुका बिरामीको संख्या १ हजार १०३ पुगेको जानकारी दिए। जिल्ला अस्पताल संखुवासभामा डेँगुका बिरामी बढेपछि बेड अभाव हुने थालेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो समय जिल्लामा तीव्र गतिमा डेँगु फैलिएपछि खाँदबारी नगरपालिकामा नै डेँगुका ९३८ बिरामी देखिएका छन्।

जिल्ला अस्पताल संखुवासभामा डेँगुका बिरामी दिनहुँ बढ्दै गएकाले बिरामीलाई बेडसमेत अभाव हुन थालेको छ। डेँगुका बिरामीको संख्या ह्वात्तै बढेपछि उपचार गर्न बेड अपुग हुन थालेपछि प्यासेज र हलमा राख्नुपर्ने बाध्यता छ।

डेँगुका बिरामीको संख्या बढेर जिल्लामा परीक्षण किट अभाव हुने देखिएपछि अस्पतालले कोशी प्रदेश कार्यालयसँग किट माग गरेको छ। ५० बेड क्षमताको संखुवासभा अस्पतालको भवन समयमै निर्माण नसकिँदा विसं २०३३ सालमा स्थापित ३७ बेड क्षमताको पुरानो भवनमा नै सञ्चालन हुँदै आएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १० स्थानीय तहमध्ये चिचिला र भोटखोला गाउँपालिकामा डेँगु देखिएको छैन।

​बिरामीमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायत लक्षण देखिने गरेको छ। नेपाल रेडक्रस सोसाइटीले डेँगु रोकथामका लागि लार्भा खोज्ने र नष्ट गर्ने ३ महिने अभियानका र सचेतना अभियान पनि चलाइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.