|
सौजन्य : नोबेल पुरस्कार समिति

कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत काटालिन कारिको र ड्रयु वेसम्यानलाई चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल पुरस्कार छनोट समितिले जनाएको छ।

कमजोर भाइरस वा भाइरसको प्रोटिनको मुख्य टुक्रा प्रयोग गर्ने परम्परागत खोपविपरीत ‘एमआरएनए’ प्रविधिले आनुवंशिक अणुहरू प्रदान गर्छ जसले कोषहरूलाई कुन प्रोटिन बनाउने भनेर बताउनुका साथै संक्रमणको अनुकरण गर्छ र वास्तविक भाइरसको सामना गर्न प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्छ।

नोबेल पुरस्कार समितिले भनेको छ- ‘पुरस्कार विजेताहरूले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासमा योगदान दिएका थिए।’

विश्व स्वास्थ्य संगठनले मार्च २०२० मा कोभिडलाई महामारी घोषणा गरेको थियो र सोही वर्ष डिसेम्बरमा ‘एमआरएनए’ खोपलाई कोभिड नियन्त्रणका लागि प्रयोगका लागि स्वीकृति दिइएको थियो। त्यसयता विश्वभरि यो प्रविधिअन्तर्गत विकसित गरिएका अर्बौं मात्रा खोप प्रयोग गरिएको छ।

‘अन्य कोभिड खोपसँग मिलेर यसले लाखौंको ज्यान बचाएको छ र धेरैलाई गम्भीर संक्रमणबाट जोगाएको छ,’ पुरस्कार समितिले भनेको छ। वैज्ञानिकद्वय कारिको र वेसमानको पहिलो भेट अमेरिकाको युनिभर्सिटी अफ पेन्सल्भेनियामा काम गर्ने क्रममा सन् १९९० को दशकको शुरुतिर भएको थियो।

एमआरएनएमा उनीहरूको रुचि त्यस बेला वैज्ञानिक क्षेत्रको असामान्य काम थियो। अमेरिकी विश्वविद्यालयका ६८ वर्षीया कारिको र ६४ वर्षीय वेसम्यानले आफ्नो अनुसन्धानका लागि विभिन्न पुरस्कार जितेका छन्।

कोभिड महामारीको समय मोडर्ना र फाइजर बायोएनटेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप तयार पारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.