काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थी विदेश पलायनको गहिरो अध्ययन आवश्यक रहेको बताएका छन्।
मंगलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थी विदेश पलायन भइरहेको भन्दै यसको गहिरो अध्ययन गर्नुपर्ने बताएका हुन्।
उनले नेपाल विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताए। शिक्षामन्त्री राईले हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप धेरै रहेको बताए।
उनले भने, ‘विद्यार्थीहरु विदेश पलायन हुनेबारे रिसर्च गरौँ। यसको गहिरो अध्ययन गर्नुपर्यो भन्ने मैले स्मरण गरिराखेको छु। अहिले भएका विश्वविद्यालयबाहेक अरु विश्वविद्यालय थप्दै गएका छौँ। यस्तो विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तर्जुमा गर्दा नयाँ टिमले नयाँ उत्साहका साथ काम गर्दा विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ‚’ उनले भने‚ ‘नेपाल विश्वविद्यालय विधेयकको परिकल्पना गर्ने बौद्धिक व्यक्तित्वहरुको टिम देशले पत्याएका बौद्धिक व्यक्तित्व हुनुहुँदो रहेछ। चालु विश्वविद्यालयभन्दा फरक विशेषताका साथ सञ्चालन गर्ने भनेर अग्रसर हुनुभएको रहेछ। अहिले भएका विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था छ तर नेपाल विश्वविद्यालय विधेयक अरुभन्दा भिन्न छ। यसको छुट्टै ढाँचा छ। चालु विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रह्यो, राजनीतीकरण धेरै भयो भन्ने गुनासो धेरै रहेको देखिन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।