काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव नखल्बल्याउन हिन्दु र मुस्लिम समुदायलाई आग्रह गरेका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकमा उनले नेपालगञ्ज सद्भावको शहरको रुपमा उल्लेख गर्दै त्यहाँको सामाजिक सद्भाव नभड्काउन हिन्दु र मुस्लिम समुदायलाई आग्रह गरेका हुन्।
नेपालगञ्जमा दुई समुदायबीच उत्पन्न तनावका कारण आजै (मंगलबार) कर्फ्यू लगाउनुपर्ने स्थिति बनेको छ। सांसद जबराले दुई समुदायबीचको तनावकफ मुख्य कारण मोबाइलको सञ्जाल भएको भन्दै साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्न सरकारलाई आग्रह गरे।
उनले साइबर क्राइम नियन्त्रण गर्न सकिएन भने देशका विभिन्न भागमा दंगा भड्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले आ–आफ्नो विरोधको कार्यक्रम शान्तिपूर्ण रुपमा गर्न दुवै समुदायलाई आग्रह गरे।
‘हिंसाका घटनाहरु चाहे मधेश प्रदेशका हुन् चाहे अरु विभिन्न भागमा तुरुन्तै नियन्त्रणमा ल्याउनुपर्यो। यो सबैको जड भनेको मोबाइलको सञ्जाल हो। साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्नुपर्यो नत्र देशभरि चाहे गौहत्याका कुरा होस् चाहे मासु खाने कुरा होस् चाहे हिन्दु, मुसलमानका झडपका कुरा होस् ‚ साइबर क्राइमलाई तुरुन्तै एक्शनमा ल्याएर दोषीहरुलाई ठाउँका ठाउँ कारबाही गरिएन भने यो देशमा विभिन्न ठाउँमा दंगा भड्किने सम्भावना बढिरहेको छ‚’ उनले भने‚ ‘म नेपालगञ्जका दुईवटै समुदायका साथीभाइ हामीहरु एउटा सद्भावको शहर भनेर नेपालगञ्जलाई बनाइरहेका छौँ‚ त्यो सद्भाव कायमै राखेर सबै शान्तिपूर्ण रुपले आ–आफ्नो विरोध गर्न पाइन्छ। तर उग्र र हिंसाको बाटोलाई लिएर हाम्रो सद्भावको शहरमा अशान्तिका भावना ल्याएर नखल्बल्याइदिन र सद्भाव नखल्बल्याउन नेपालगञ्जवासीहरुलाई विनम्र अनुरोध गर्छु।’
उनले संयमित भएर नेपालगञ्जको शान्ति र सुरक्षा कायम राख्न पनि आग्रह गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।