रक्सी घोटाला प्रकरणमा भारतमा आम आदमी पार्टीका राज्यसभा सांसद सञ्जय सिंहलाई प्रहरीले पक्राउ गरेको छ।
प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सी घोटाला प्रकरणमा उनको दिल्लीस्थित घरमा छापासमेत मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सञ्जय सिंहलाई करिब १० घण्टा सोधपुछपछि प्रवर्तन निर्देशनालयले पक्राउ गरेको हो।
कोरोना अवधिमा दिल्ली सरकारले दिल्ली अन्तःशुल्क नीति २०२१–२२ लागू गरेको थियो। पछि विवादका कारण हाल उक्त नीति खारेज गरिसकिएको छ।
यही नीतिलाई टेक्दै उनले करोडौँ रुपैयाँ घोटाला गरेको आशंका छ। सिंहले एक ब्यापारीसँग ८२ लाख रुपैयाँको चेक लिएको उजुरीसमेत परेको छ। यस प्रकरणमा अहिलेसम्म १५ जनाभन्दा बढी पक्राउ परिसकेका छन्।
पक्राउ पर्नेमा ठूला मदिरा कम्पनीका मालिकदेखि व्यवसायीहरु रहेका छन्। ईडीले दिल्ली सरकारको नयाँ मदिरा नीतिको निर्माण र कार्यान्वयनमा मनि लान्डरिङ आरोपको छानबिनसमेत गरिरहेको छ।
यसअघि आम आदमी पार्टीका नेता सत्येन्द्र जैन र मनीष सिसोदिया पनि पक्राउ परेका छन्। सिसोदिया हाल जेलमा छन् तर सत्येन्द्र जैन उपचारका लागि जमानतमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।