भक्तपुर : भक्तपुरका नेवार समूदायले आज म्हः पूजा मनाएका छन्। यो समूदायले भोलि मङ्गलबार किजा पूजा अर्थात् भाइटीका मनाउने भएका छन्।
पञ्चाङ्ग निर्णयक विकास समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि नै यहाँका नेवार समुदायले म्हः पूजा मनाएको र भाइटीका पनि सोहीअनुसार मनाउने भएका हुन्। नेपाल संवतको नयाँ वर्षका दिन मनाइने न्हुँ दया भिन्तुना र्यालीसमेत यहाँका नेवार समुदायले आजै मनाएका छन्। भक्तपुरका विभिन्न ठाउँबाट भिन्तुना र्याली आयोजना गरेका थिए।
तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाले ज्योतिष डा वीरेन्द्रप्रसाद कायष्थ एवं ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि आज म्हः पूजा र भोलि २८ गते भाइटीका लगाउने निर्णय सार्वजनिक गरेपछि यहाँका समूदायले सोही अनुसार पर्व मनाएका हुन्।
पञ्चाङ्ग निर्णायक समिति आज २७ गते गाई तिहार, २८ गते गोवद्र्धन तथा म्ह पूजा र २९ गते भाइटीका एवं किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुरमा भने एक दिनअगाडि नै यो पर्व मनाएका हुन्।
भक्तपुर नगरपालिकाले भने २६ गते अपराह्न २ बजेर १४ मिनेटपछि औँसी तिथि लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कात्तिक २७ गते अपराह्न २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकाले त्यस दिन साँझ म्हः पूजा गर्ने र कात्तिक २८ गते अपराह्न २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकाले सो दिन किजा पूजा अर्थात् भाइटीका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेअनुसार यो पर्व मनाउन लागिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।