|

कर्णाली : तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ। देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ। तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ।

चिसो सिरेटाेमा खुला आकासमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितले सामान्यतया दसैँ मनाए पनि यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरूका पछिल्ला दिन कष्टकर तरिकाले व्यतित भइरहेका छन्।

भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक हर्षोल्लासका साथ दीपावली मनाउन सक्ने अवस्थामा छैनन्। जाडोको समयमा खुला आकासमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौ–धौ छ। यद्यपि, पालमुनी भए पनि बत्ती बालेर दीपावली सुरु भएको पहिचान भने दिएका छन्।

भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो। यद्यपि भूकम्पबाट सिङ्गो जाजरकोट, रुकुमपश्चिमको चौरजहारी तथा मुसिकोट नगरपालिका र बाँफीकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन्।

कात्तिक १८ गतेदेखि जाजरकोटका सातै स्थानीय तहका नागरिक खुला आकाशमा बिताइरहेका छन्। कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएका छन्। विस्थापित सबैको बास भनेकै पालमुनि हो। दसैँ घरमा मनाएका उनीहरू भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन्। 

सहर तथा गाउँमै पक्की घर भएका नागरिकका घर आँगन रङ्गोलीले सजिरहँदा भने भूकम्पपीडितले आइतबार त्यही पालमुनिको बासस्थानमै दीप प्रज्वलन गरे। जाजरकोट नलगाड नगरपालिका निवासी एक स्थानीयले पालमुनि दीपावली गरेको तस्बीर अहिले सामाजिक सञ्जाल व्यापक चर्चामा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.