|

बैतडी : बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगिता मंसिर तेस्रो साता शुरू हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघले आयोजना गर्दै आएको यो प्रतियोगिता यही मंसिर १६ गते शुरु हुने भएको हो। 

यो वर्ष बिडिसिए कप वन डे फर्म्याटमा खेलाइने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। 

यसअघि टी–२० फर्म्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो वर्ष ५० ओभरमा खेलाइन लागेको हो। प्रतियोगितामा संघमा आबद्ध १४ क्लबको सहभागिता रहने जनाइएको छ। 

प्रतियोगिताका सबै खेल दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने छन्। 

प्रतियोगितामा नागार्जुन क्रिकेट क्लब, कालशैनी क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, दशरथचन्द स्मृति प्रतिष्ठान, एनआरवाईसी बठ्ठा, पंचकोटी क्रिकेट क्लब, निङ्गलासैनी क्रिकेट क्लब, नवजागृति क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, यौंगस्टार क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब, वासुलिङ्ग क्रिकेट क्लब र पाटन क्रिकेट क्लबले सहभागिता जनाउने छन्। 

संघमा आबद्ध सबै क्रिकेट क्लबलाई नवीकरण अनिवार्य गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता गराउन भनिएको छ। 

प्रतियोगितामा १६ वर्ष मुनिका खेलाडीलाई समावेश गर्न दिइने छैन भने एउटा टिममा २३ वर्ष माथिका बढीमा ४ जना खेलाडीले मात्रै सहभागिता जनाउन पाउने क्रिकेट प्रशिक्षक दिपेन्द्रबहादुर बोहराले  बताए। 

प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताले क्रिकेट विकासका साथै खेलाडी उत्पादनमा सघाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.