|

बैतडी : बालविवाह अन्त्यका लागि बैतडीका धार्मिक गुरुहरु पनि सक्रियतापूर्वक लागिपरेका छन्।

सोमवार दोगडाकेदार गाउँपालिका कार्यालयमा यूएनएफपीएको सहयोग तथा भीएसओ र पिसविनको साझेदारीमा आयोजित धार्मिक गुरूहरूसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बालविवाह अन्त्यका लागि आफूहरू सक्रिय रहेको बताएका हुन्।

उमेर नपुग्दै बिहे गर्नुपर्छ भन्ने गलत प्रचलन रहेकाले यसको अन्त्यका लागि लागिपरेको ज्योतिषी नन्दराज भट्टले बताए। बिहे गर्ने उमेर नपुगेका किशोरकिशोरीको चिनासमेत हेर्ने नगरेको भट्टको भनाई छ। 

उनले भने, ‘हामीलाई केही महिनाअगाडि पिसविन संस्थाले बालविवाह अन्त्यसम्बन्धी तालिम दिएको थियो। त्यसपछि २० वर्ष नपुगेका भए चिना नहेर्ने र बिहे जुराउने काम बन्द गरेका छौँ। त्यो तालिमले धेरै कुरा सिकायो।’

पछिल्लो समय २० वर्ष पुगेपछि मात्रै बिहे गर्नुपर्छ भन्नेमा अभिभावक पनि सहमत हुने गरेको कार्यक्रममा सहभागी धामी हरिसिंह कार्कीले बताए।

उनले भने, ‘महिनावारी नहुँदै छोरीको विवाह गरिदिँदा पुण्य कमाइन्छ भन्ने गलत मान्यताका कारण यसअघि बालविवाह हुँदै आएकोमा अब भने त्यो मान्यता हट्दै गएको छ।’

२० वर्ष नपुग्दै बिहे गर्नुपर्छ भन्ने कुनै शास्त्रीय मान्यता नरहेको अन्तरक्रियामा सहभागी टेकबहादुर चन्दले बताए। उनले भने, ‘कुनै पुराण र शास्त्रमा सानैमा बिहे गर्नुपर्छ भन्ने छैन तर हाम्रो समाजमा गलत कुरा पुष्टि गर्दै बिहे हुने गरेका थिए। अहिले भने घट्दै गएको छ।’

बालविवाहले शारीरिक र मानसिक समस्या देखा पर्ने भएकाले बालविवाह अन्त्य गर्नुपर्नेमा दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टले बताए।

उनले भने, ‘सानै उमेरमा विवाह गर्दा शारीरिक, मानसिक, शैक्षिक अवस्था कमजोर हुनुका साथै विभिन्न हिंसाका घटना हुने गरेका छन्। त्यसैले बालविवाह अन्त्य हुन आवश्यक छ।’

धामीझाँक्री, ज्योतिषी तथा धार्मिक गुरुहरु बालविवाह अन्त्यका लागि सक्रिय रहेको दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन्।

उनले भनिन्, ‘पालिकाले पनि बालविवाह अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसमा धामीझाँक्री, ज्योतिषी तथा धार्मिक गुरु पनि सक्रिय रहनु भएको छ।’

बालविवाह न्यूनीकरण परियोजना बैतडीका ७ स्थानीय तहमा सञ्चालन हुँदै आएको पिसविन संस्थाका परियोजना अधिकृत कृष्णदत्त भट्टले बताए।

परियोजनाअन्तर्गत किशोरकिशोरीका लागि रूपान्तरण कक्षा, अभिभावकलाई तालिम, धामीझाँक्री, ज्योतिषी, धार्मिक गुरुसँग अन्तरक्रिया गर्ने गरिएको छ।
यसका साथै बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने गरेको पनि भट्टले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.