काठमाडौँ : नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा मंगलवार यमनविरुद्ध सशक्त चुनौती प्रस्तुत गर्न तयार रहेको बताएका छन्।
नेपालले विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो खेल खेल्न लागेको हो। समूह ‘एच’ मा रहेको नेपालले यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ४–० को हारपछि यमनको सामना गर्दैछ।
नेपालले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यमनसँग साँझ ७ बजे खेल्नेछ। सोमवार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान तथा गोलकिपर किरणले यमनसँगको खेल जित्नैपर्ने दबाबमा रहेको र त्यसका लागि टोली पनि मनोवैज्ञानिक रूपमा तयार नै रहेको बताएका हुन्।
उनले युएईविरुद्धको हार मस्तिष्कबाट हटाइसकेको र नयाँ लक्ष्यसहित तयारी गरिएको उल्लेख गरे। यमन पनि समूहको पहिलो खेलमा बहराइनसँग २–० ले हारेर नेपाल आएको हो।
फिफा वरीयतामा १५६ औं स्थानमा रहेको यमन १७३ औं वरीयताको टोली नेपालका लागि बलियो प्रतिद्वन्द्वी हुनेछ तर कप्तान किरण खेलाडीहरू बलियो टोली यमनविरुद्ध मनोवैज्ञानिक रूपमा तयार रहेको बताउँछन्।
घरेलु मैदानमा खेल्न पाउँदा सबैजना उत्साहित रहेको उल्लेख गर्दै कप्तान किरणले टोलीको समर्थनका लागि दर्शकको राम्रो उपस्थिति रहने विश्वाससमेत व्यक्त गरेका छन्।
टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अधिकांश नयाँ खेलाडी रहे पनि यमनविरुद्ध जित निकाल्ने आशा व्यक्त गरेका छन्। युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको र पछिल्लो खेलमा भएका गल्ती सुधार्दै खेल जित्ने उनको भनाइ छ। प्रशिक्षक एनिसले पनि घरेलु भूमिमा समर्थकको राम्रो साथ रहने विश्वास व्यक्त गरे।
समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एशियन कपमा सोझै स्थान बनाउनेछन्। त्यसैले समूहमा कमजोर मानिएका नेपाल र यमन दुवैका लागि मंगलवारको खेल महत्वपूर्ण रहनेछ।
पछिल्लो समय चोटग्रस्त रहेका डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर लाकेन लिम्बू र मनीष डाँगीको भोलिको खेल खेल्ने नखेल्नेबारे सबैको चासो थियो। प्रशिक्षक एनिसले यूएईविरुद्ध पहिलो हाफमा चोट लागेका मिडफिल्डर लाकेन यमनविरुद्ध नखेल्ने उल्लेख गरे। अनन्तको भने पुनरागमन हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यमनविरुद्ध टिकट मूल्यसमेत निर्धारण गरिसकेको छ। एन्फाले साधारणतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ टिकटको १ हजार रुपैयाँ निर्धारण गरेको छ।
खेल साँझमा भएकाले एन्फाले समर्थकका लागि २५ वटा बसको व्यवस्था पनि गरेको जनाएको छ। मंगलवारको खेलका लागि नेपाल र यमनले सोमवार दशरथ रंगशालामा साँझ फरकफरक समयमा अभ्याससमेत गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।