काठमाडौं : चितवनमा गैँडा मारेको घटना छानबिन गर्न गठित समितिले आगामी बुधवार प्रतिवेदन बुझाउने तयारी गरिरहेको जनाएको छ। समितिले स्थलगत अध्ययन सकिएको र प्रतिवेदन तयार पारिरहेको जनाएको हो।
मंसिर ३ गते चितवन पुगेर घटनाबारे छानबिन थालेको राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय निकुञ्ज आरक्षण निर्देशनालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको संयुक्त टोलीले छानबिन सकेको हो।
राष्ट्रिय निकुञ्ज, सुरक्षा गण र सरोकारवाला निकायहरुसँग छलफल गरि घटनाको वस्तुस्थिति र सुरक्षाका विषयमा रायसुझावहरु संकलन गरिएको समितिका संयोजक रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले थाहाखबरलाई जानकारी दिए।
समितिले स्थलगत अध्ययन सकेसँगै प्रतिवेदन लेख्न थालेको छ। प्रतिवेदन आगामी बुधवार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुझाउने गरी काम भइरहेको समिति संयोजक ढकालले बताए।
निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको चपरचुली सुरक्षा पोष्टको ३ किलोमिटर क्षेत्रभित्रै तस्करले १८ र ६ वर्षका २ गैंडा मारेर खाग र खुर लगेको पाइएपछि छानबिन समिति गठन गरेर अध्ययन अघि बढाइएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।