|

धुलिखेल : काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालभरिका विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन आयोजना गरेको छ। ‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तरराष्ट्रियकरण’ विषयक सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका लागि साझा मार्गचित्र निर्माण गर्ने मार्ग प्रशस्त गरेको छ।

सम्मेलनमा सहभागी उपकुलपतिहरुले नेपालका विश्वविद्यालयहरुले आज भोगिरहेको संकट र त्यसको समाधानका उपायबारे बृहत् छलफल गरेका थिए। उनीहरूले नेपालको उच्च शिक्षालाई अन्तरराष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीहरूको निरन्तर पलायनको समस्या सुल्झाउन कार्ययोजना विकास गर्न प्रतिबद्धता व्यक्त गरे। 

सहभागीहरुले काठमाडौं विश्वविद्यालयको आयोजनामा ​​सन् २०२४ फेब्रुअरी १५–१६ २०२४ मा हुने उत्तर भारतका २५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको बैठकअघि नेपालका विश्वविद्यालयहरूको साझा आवाज निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मूल क्याम्पसमा भएको सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीसहित विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टर, डीनलगायत १५० भन्दा बढीको सहभागिता रहेको थियो। 

कार्यक्रममा प्रधानमन्त्री दाहालले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमान चुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलनको महत्व औंल्याएका थिए। उच्च शिक्षण संस्थाहरुको स्वायत्तताको आवश्यकताबारे प्रकाश पार्दै उनले विश्वविद्यालयका लागि स्वशासनको खाका निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।

‘विश्वविद्यालय अनुदान आयोगअन्तर्गत राष्ट्रिय शिक्षाको ढाँचा, समकक्षताको प्रावधान तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न बनाउन विश्वविद्यालयहरूले चालेका पहलहरू प्रसंशनीय छन्,’ प्रधानमन्त्रीले भने।

राज्यमन्त्री प्रमिलाकुमारीले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपाय खोज्नुपर्नेमा जोड दिएकी थिइन्।

‘सहकार्यमार्फत प्रभावकारी क्रेडिट ट्रान्सफर र क्रेडिट सञ्चयका प्रावधानहरू निर्माण गरेर मात्र यस्तो लक्ष्य प्राप्त गर्न सम्भव छ‚’ उनले भनिन्। उनले राष्ट्रिय र वैश्विक शैक्षिक मापदण्डको ठोस प्रावधानसहित उच्च शिक्षालाई सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिइन्।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले राष्ट्रिय तथा क्षेत्रीय तहमा शिक्षाको मापदण्डमा एकरूपता ल्याउन सम्मेलन आयोजना गरिएको बताए। उनले उच्च शिक्षाको भविष्यका मार्ग पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याए।

डा. थापाले विश्वभरका नीतिविद्, विश्वविद्यालयका अधिकारी र विद्वानहरुको भेला हुनु नेपालको उच्च शिक्षालाई सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताए। उनले भने‚ ‘साझा शैक्षिक हितको उद्देश्यले ज्ञान आदानप्रदान र सहकार्य गर्ने हाम्रो पहल हो।’

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तरका आधारमा राष्ट्रिय पहिचान निर्माण गर्नेतर्फ जोड दिए।

उनले द्रुत गतिमा परिवर्तन भइरहेका स्थानीय र विश्वव्यापी परिदृश्यहरूसँग नेपालको शिक्षा पद्धतिलाई एकाकार बनाउन प्राविधिक रूपमा राम्रो बहु–विधागत सिकाइका स्थानहरूको महत्त्वबारे प्रकाश पारे।

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार अच्युतप्रसाद वाग्लेले उच्च शिक्षाका पेशाकर्मीमाझ पेशागत इमान्दारी र नैतिक जिम्मेवारी हुनुपर्नेमा जोड दिए। उनले सम्मेलन शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विन्दुहरुलाई जोड्ने पहल रहेको समेत बताए।

‘अहिले हामी जहाँ छौं, त्यहीँबाट उत्कृष्टता हासिल गर्नु बुद्धिमत्तापूर्ण हुन्छ। त्यसका लागि हामीले उच्च शिक्षाका सवालमा केन्द्रित हुने खुकुलो बौद्धिक बहस र संवादको पहल गर्ने निकाय निर्माण गर्नु आवश्यक छ,’ उनले भने।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समापन सत्रमा काठमाडौं विश्वविद्यालयको पहलमा आयोजित सम्मेलनले आयोगको पुरकका रुपमा काम गरेको बताए। सम्मेलनले नेपालमा उच्च शिक्षाको सुदृढीकरणका र अन्तरराष्ट्रियकरणका लागि उल्लेखनीय योगदान दिने विश्वास उनले व्यक्त गरे।

सम्मेलनका प्राविधिक सत्रमा विश्वविद्यालयका शीर्ष नेताहरूले नेपालका शैक्षिक भविष्यका लागि मार्गचित्र प्रस्तुत गरेका थिए।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति शिलु मानन्धर बज्राचार्यले उच्च शिक्षालाई आकार दिने उद्देश्यसहित खुला शिक्षामा भएका पहलबारे बताइन्। उनले देश र विदेशका हरेक कुनाबाट सिक्न चाहनेहरुलाई पहुँचयोग्य स्व–निर्देशित, खुला सिकाइका अवसरको आवश्यकतामाथि प्रकाश पारिन्।

नेपाल विश्वविद्यालय विकास बोर्डका अध्यक्ष अर्जुन कार्कीले नेपालको उच्च शिक्षालाई मानविकी तथा कला अध्ययनको माध्यमबाट थप सान्दर्भिक बनाउनेबारे बताए। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विद्यार्थी आदानप्रदान र गतिशीलता कार्यक्रममार्फत उच्च शिक्षाको भविष्यको रूपान्तरण गर्न सकिनेमा जोड दिए।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले नेपाली उच्च शिक्षालाई विश्वसँग जोड्न नेपालमा भइरहेका प्रयासका सबल र दुर्बल पक्षबारे प्रकाश पारे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.