|
फाइल तस्वीर

काठमाडौँ : पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने अझै अन्योल नै छ।

विसं २०७२  वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न गरी काष्ठमण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ।

महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) का अनुसार पुनःनिर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गरिरहेको छ। 

प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय यकीन हुनेछ।  

विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समितिको गठन भएको थियो। 

उक्त सम्पदा पुनःनिर्माणका लागि २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने निर्णय गर्‍यो। यसको ४ दिनपछि अर्थात् ज्येष्ठ २९ गते महानगरपालिका र समितिबीच पुनःनिर्माणका लागि सम्झौता भयो। 

सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई ५० लाख रुपैयाँ प्रदान गरिएको थियो। त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते ५ करोड, २०७६ माघ ९ गते ५ करोड र २०७८ असार १६ गते १ करोड रुपैयाँ उपलब्ध गरायो। 

क्षति भएको उक्त सम्पदा पुनःनिर्माणका लागि महानगरले उपलब्ध गराएको ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ। 

काष्ठमण्डप खुला गरी नियमित सञ्चालन र संरक्षण गर्न, काष्ठमण्डपलाई भौतिकरुपमा जिम्मेवारी स्वीकार गर्न पुनःनिर्माण समितिका संयोजक राजेश शाक्यले महानगरलाई आग्रह गरेका छन्। 

पुनःनिर्माणका क्रममा भएका कामको सम्पूर्ण विवरणसहित निर्माणका समयमा विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदनसमेत महानगरलाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ।

काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरुपमा निर्माण गरी २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.