|

काठमाडौँ : नामिबिया सन् २०२४ को आइसिसी टी-२० विश्वकपमा पुगेको छ। अफ्रिकी छनोटअन्तर्गत घरेलु मैदानमा मंगलवार भएको खेलमा तान्जानियालाई ५८ रनले हराउँदै नामिबियाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।

जितका लागि १५८ रनको लक्ष्य पछ्याएको तान्जानियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९९ रनमात्र बनाएको थियो। तान्जानियाका लागि अमल राजिवनले सर्वाधिक ४५ रन बनाए। 

तान्जानियालाई थोरै स्कोरमा सीमित गर्न नामिबियाका कप्तान जेरार्ड इरास्मसले २ र डेविड विजाले १ विकेट लिए। 

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ६ विकेटमा १५७ रन बनाएको थियो। नामिबियाका लागि जेजे स्मिटले अविजित ४० रन बनाए। 

५ खेलबाट ८ अङ्क बनाएको नामिबियाले अझै एक खेल खेल्न बाँकी नै रहँदा विश्वकपमा स्थान सुनिश्चित गरेको हो। नामिबियाले छनोटको अन्तिम खेल नाइजेरियासँग खेल्नेछ।

नामिबिया योसमेत गरि तेस्रो पटक विश्वकपमा पुगेको हो। यसअघि उसले सन् २०२१ र २०२२ को टी-२० विश्वकप खेलेको थियो। 

अफ्रिकाबाट ७ टोली सहभागी छनोटमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष २ टोली विश्वकपमा छानिने नियमअनुसार नामिबियाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। 

अफ्रिकाबाट विश्वकपमा पुग्ने एउटा टोलीको टुङ्गो लाग्न बाँकी छ। अब युगान्डा, केन्या र जिम्बावेमध्ये एउटा टोली विश्वकपमा छनोट हुनेछ। 

आगामी वर्ष हुने टी–२० विश्वकपको आयोजना अमेरिका र वेस्टइन्डिजले गर्दै छन्। २० टोलीको सहभागिता रहने उक्त विश्वकपमा १९ टोलीको टुङ्गो लागिसकेको छ। 

जसमा आयोजक अमेरिका र वेस्टइन्डिजसँगै अष्ट्रेलिया, इङ्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान र नामिबिया छन्। 

नेपालले गत महिना घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै विश्वकपमा दोस्रो पटक स्थान सुरक्षित गरेको थियो। नेपालले यसअघि सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.