|

‘कहाँ छन् सबै अरब देशमा मुस्लिमहरू? मानव अधिकारको कुरा गर्ने सबै मानिसहरू कहाँ छन्? तपाईंले प्यालेस्टिनीहरूलाई पीडा, भोकै बस्न र विनाश हुन छोड्नुभएको छ’, गाजामा खाना पकाउने ग्यास लिन लाइनमा उभिएकी एक मध्यम उमेरकी महिलाले आक्रोश व्यक्त गर्छिन्।

उनी रिसाउँछिन्। कराउँछिन्।  उनको अनुहारमा निराशा मात्र छ।  ‘हामी बिहानैदेखि एउटा ग्यास सिलिन्डर भर्न पर्खिरहेका थियौं, मैले यहाँ लाइनमा उभिएर बिहानको प्रार्थना गरेँ’, उनले भनिन्।

उनले बिबिसीलाई उत्तरी गाजाको इजरायली सीमाबाट दुई किलोमिटर टाढा बेइट हानौनबाट विस्थापित भएको बताइन्।

‘म विनाशको वर्णन गर्न सक्दिनँ। सम्पूर्ण परिवारका सदस्य र उनीहरूको कागजात मेटाइएको छ। गाजाबासीलाई उनीहरूको घर अगाडि मारिएको छ। गाजा पूर्ण रूपमा ध्वस्त भएको छ। हामीमाथि दया गर्नुहोस्’, उनले भनिन्।

उनी अहिले मध्यगाजाको देइर अल-बालाह सहरमा रहेको संयुक्त राष्ट्रसंघीय विद्यालयमा आफ्नो परिवारसँग शरण लिइरहेका छन्।

जब हमासले अक्टोबर ७ मा इजरायलमा हमला गर्‍यो, १२ सय मानिस मारिए। २ सय भन्दा बढीलाई बन्धक बनाइए।

त्यसपश्चात् इजरायलले हवाई आक्रमणहरू सुरू गर्यो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यी हवाई आक्रमणमा हालसम्म १४ हजार ८ सय प्यालेस्टाइनी मारिएका छन् ।

गाजा पट्टीमा करिब २४ लाख मानिस बसोबास गर्छन् र इजरायलले उत्तरी गाजाका मानिसहरूलाई दक्षिणतिर जान आदेश दिएको छ।

खाना पकाउने ग्यास लिन सयौं मानिस लाइनमा बसेका छन् । युवाहरू ग्यास सिलिन्डरमा बसेर पर्खिरहेका छन् । जनता थाकेका छन् ।

नोभेम्बर २४ मा युद्धविराम पछि २ सय ट्रकहरू गाजा प्रवेश गर्दै छन्।

संयुक्त राष्ट्र संघका एजेन्सीहरूले इजरायली सेनाको उपस्थिति रहेको उत्तरी क्षेत्रमा केही राहत सामग्री वितरण गर्न सफल भएको तर जताततै अत्यावश्यक वस्तुको चरम अभाव रहेको बताएका छन्।

लाइनमा उभिएको अर्को व्यक्ति बिबिसीसँग कुरा गर्न तयार छन्।

उनी भन्छन्, ‘तिमीले एक कप चिया वा बिस्कुटको प्याकेट पाउने छैनौ। हिजो सडकमा सुतिरहेका मानिसहरू आपसमा रोटी बाँडिरहेका थिए। हिजो पानी पर्यो र हामी चिसोमा बाँचिरहेका छौँ। मानिसहरूले यहाँ रात बिताए। अल्लाहले हामीलाई मद्धत गरून्।‘

द्वन्द्व सुरु भएदेखि इजरायलले सबै इन्धन आपूर्तिहरू रोकेको छ र धेरै सीमित मात्रामा इन्धन मात्र प्रवेश गर्न अनुमति दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार प्रत्येक दुई दिनमा १,४०,००० लिटर लिटर इन्धन अनुमति दिइएको थियो।

इजरायली सरकारले थप इन्धन हमासले प्रयोग गर्नसक्ने बताएको छ। हमासलाई युरोपेली संघ, बेलायत र अमेरिकाले आतंकवादी संगठन घोषणा गरिसकेका छन् ।

मोहम्मद अल किद्राह खाना पकाउने ग्यासको लागि लाइनमा धैर्यपूर्वक पर्खिरहेका छन्।

 ‘हामी यहाँ आएको तीन दिन भइसक्यो। दुई रातअघि यहाँ आइपुगेको तर अहिलेसम्म ग्यास पाएको छैन’, उनी भन्छन्,

‘हामीले इन्धन, पीठो वा केहि पाउन सक्दैनौं। सबै चीजको लागि तपाई लाइनमा उभिनु पर्छ र तपाईले त्यो पाउन संघर्ष गर्नु पर्छ।’

अमेरिकाले चिकित्सा आपूर्ति, खाद्य सहायता र शीतकालीन आश्रय सहित सहायता आपूर्तिले भरिएका तीन विमानहरू पठाउँदैछ। संयुक्त राष्ट्र संघले गाजामा वितरण गर्नेछ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वास्थ्य पूर्वाधार पुनर्स्थापना नगरे युद्धमा मारिएका भन्दा धेरै मानिस रोगबाट मर्ने चेतावनी दिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रको नेतृत्वमा रहेको सहायता मञ्चले गाजाका ६० प्रतिशत भवन या त क्षतिग्रस्त वा ध्वस्त भएको बताएको छ।

युद्धविरामको क्रममा गाजामा जीवन पुन: फर्किने संकेतहरू छन्। यहाँ यस वर्षको बाँकी जैतुनको बाली काट्न लागिएको छ ।

‘हामीले यो अवसरको फाइदा उठाउनु पर्छ, त्यहाँ समय बाँकी छैन,’ प्यालेस्टिनी किसान फाथी अबु सलाहले रोयटर्स समाचार एजेन्सीलाई भने। उनी दक्षिणमा खान युनिसमा बस्छन्।

उनी भन्छन्, ‘यस युद्धले हामीलाई ध्वस्त पारेको छ, हामीसँग भएको अधिकांश बाली नष्ट भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.