|
फाइल तस्वीर

काठमाडौँ : सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ। डा. लोहनीलाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय भएको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिव भइसकेका डा लोहनी स्वास्थ्य बिमा कार्यक्रम राम्ररी बुझेका व्यक्ति मानिन्छन्। उनकै पहलमा विसं २०७२ चैत २५ मा कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम शुरुवात भएको थियो। 

उनी त्यस समयमा बिमा बोर्डका कार्यकारी निर्देशक थिए। त्यसपछि उनकै अग्रसरतामा स्वास्थ्य बिमा ऐन मस्यौदा तयार भएको थियो। गत २४ माघमा डा सेनेन्द्रराज उप्रेतीले बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो।

बैठकले माल्दिभ्सको मालेमा २०८० साल मंसिर २७–२८ मा आयोजना हुने मिनिस्ट्रियल मिटिङमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई सहभागी हुन स्वीकृति दिएको छ।

राजश्व न्यायाधीकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश राजनबहादुर भट्टराई, विराटनगरको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने, काठमाडौंको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाललाई तोक्ने निर्णय भएको उनले बताइन्।

सरकारले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश कृष्ण गिरीलाई तोकेको छ। त्यस्तै विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई र सदस्य पदमा उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई तोक्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.