काठमाडौँ : काठमाडौँको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित ४१औँ आइजिपी रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्राप्त गरेको छ।
आज भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको टिमलाई १–० गोल अन्तरले पराजित गरेको थियो।
प्रतियोगितामा प्रथम हुने टिमले रु एक लाख एक हजार र द्वितीय हुने टिमले ५१ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय टिमका शङ्कर घर्तीमगर सर्वोत्कृष्ट खेलाडी, गण्डकी प्रदेश प्रहरी कार्यालय टिमका आशिष थारू सर्वाधिक गोलकर्ता र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टिमले फेयर प्ले अवार्ड प्राप्त गरी १०/१० हजार पुरस्कार प्राप्त गरेका छन्।
निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले आज एक समारोहका बीच प्रतियोगितामा विजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, रनिङ कप र नगद पुरस्कार प्रदान गरे।
यही मङ्सिर ६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका १० वटा टिमको सहभागिता रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।