|

बैतडी :  बैतडीमा  आजदेखि बिडिसिए कप  जिल्लास्तरीय  एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु भएको छ। 

उद्घाटन खेलमा एनआरवाइसी बठ्ठा विजयी भएको छ। एनआरवाइसीले पञ्चकोटी क्रिकेट क्लब, बुड्डालाई ६ विकेटले पराजित गर्‍यो। 

जितका लागि पाएको ९८ रनको झिनो लक्ष्य एनआरवाइसीले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा कल्पेश चन्दले अविजित ३९ र प्रदीप चन्दले ३६ रनको योगदान गरे। एक समय १५ रन जोड्दा २ विकेट गुमाएर धर्मराएको पारीलाई प्रदीप र कल्पेशले ७६ रनको साझेदारी गर्दै जित सुनिश्चित गरे। 

पञ्चकोटीका कैलाश बुडालले २ विकेट  लिए। 

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्चकोटी २२.३ ओभरमा ९७ रनमा अलआउट भयो। उसका सुमित बुडालले सर्वाधिक २८ रन बनाए। एनआरवाइसीका भूपेन्द्र चन्दले ४ र प्रदीप चन्दले ३ विकेट हात पारे। 

अलराउन्डर प्रदर्शन गरेका प्रदीप खेलका म्यान अफ द म्याच भएका स्कोरर द्रोपती कुँवरले जानकारी दिइन्।

त्यसअघि  प्रतियोगिताको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर  चन्दले बलिङ  र बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ब्याटिङ गर्दै  उद्घाटन  गरे। बैतडी जिल्ला क्रिकेट संघको  आयोजनामा सञ्चालन हुने  बिडिसिए कपको यो २० औं संस्करण हो। 

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरी खेलहरू भइरहेका  बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।

यो वर्ष बिडिसिए कप वान डे फर्म्याटमा भइरहेको  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। 

विगत वर्षहरूमा टी–२० फर्म्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो वर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोगटीले बताए।  

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र  उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। 

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.