|

म्याग्दी : अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक पर्यटकीय स्थल म्याग्दीको घोडेपानी–पुनहिलको पर्यटन व्यवसाय पुनः लयमा फर्किँदै गएको छ।

सन् २०२० मा कोभिड शुरु भएपछि सुस्ताएको यहाँको पर्यटन ३ वर्षपछि सन् २०२३ को अक्टोबरदेखि लयमा फर्किएको स्थानीय व्यवसायीले बताएका छन्। 

यतिबेला घोडेपानी र पुनहिल आन्तरिक तथा बाह्य पर्यटकले भरिएको छ। पछिल्ला ४ महिनामा यहाँ १२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्।

पर्यटन प्रहरी कार्यालय घोडेपानीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर १० गतेसम्म १२ हजार ३६१ जना विदेशी पर्यटकले घोडेपानी र पुनहिल क्षेत्रको भ्रमण गरेका छन्। 

पर्यटन प्रहरीले विदेशीको मात्र तथ्याङ्क राख्ने गरेको छ। कात्तिकमा सबैभन्दा बढी पर्यटकले घोडेपानीको भ्रमण गरेका छन्। 

साउन महिनामा ९७६ जना, भदौमा ९९३ जना, असोजमा ३ हजार १११ जना, कात्तिकमा ५ हजार ३७९ जना र मंसिर १० गतेसम्म १ हजार ५०२ जना पर्यटकले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक तारा बुढामगरले जानकारी दिए। 

पर्यटकीय याम शुरु भएदेखि असोज र कात्तिकमा २ हजार ५ सयदेखि ३ हजारसम्म आन्तरिक पर्यटक भ्रमणमा आएका छन्।

विगतको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको घोडेपानीका पर्यटन व्यावसायी डमबहादुर गर्बुजाले बताए। उनले भने‚ ‘कोरोना महामारीपछि गत वर्ष पर्यटकको उत्साहजनक आगमन भयो। यस वर्ष केही कम देखिए पनि विस्तारै बढ्ने अपेक्षा गरेका छौँ।’

सडक यातायातको विस्तारसँगै अन्नपूर्ण पदमार्ग मासिएपछि विदेशी पर्यटक यस क्षेत्रमा आउन नमान्ने गरेको मल्टी एडभेन्चर काठमाडौँका पथप्रदर्शक डाइला शेर्पाले बताए। 

समुद्र सतहदेखि ३ हजार २ सय मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। घोडेपानी पर्यटकको महत्वपूर्ण वासस्थानमा पर्छ। यहाँ साना ठूला गरी २६ वटा होटल सञ्चालनमा छन्। 

पुनहिल प्रवेश गर्न नेपालीले ५० रुपैयाँ र विदेशीले १५० रुपैयाँ प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्ने हुन्छ। पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ।

अन्नपूर्ण परिक्रमापछि तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै ४ वटा नाकाबाट पर्यटक घोडेपानीमा भित्रिने गरेका छन्। घोडेपानीमा वास बस्ने पर्यटक एकाविहानै पुनहिल भ्रमणमा जाने गर्छन्।

हिमाल, पहाडी भू्गोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो। 

समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। पुनहिलबाट हिमशृंखला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृंखलाका दर्जनभन्दा बढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ। 

मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन्।

पुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमाल अवलोकन गर्न पाउँदा आनन्द महसुस भएको कास्कीको पोखराका सुमन गिरीले बताए। ​घोडेपानीमा वास बसेका पर्यटक एकाविहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलबाट दृष्य अवलोकन गर्न पुग्छन्।

घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन्। गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिनमा र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.