|

भक्तपुर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्व सभामुख अग्नि सापकोटाले एनसेल विक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्।  

रफत सञ्चार क्लबद्वारा आयोजित अन्तरसंवादमा उनले शक्तिशाली अध्ययन तथा छानबिन कमिटीबाट दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने बताए। उनले भने, ‘एनसेल विक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखिए दोषीलाई कारबाही हुनुपर्छ।’

उनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए।

प्रवक्ता सापकोटाले भने, ‘जनताको अपेक्षानुसारको विकास निर्माण र चाहना पूरा गर्न सिंगो मन्त्रिपरिषद् परिचालन हुन सकेन। प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नुभयो तर मन्त्रीहरूले सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सहयोग गरेनन्। त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ।’

भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्नु परेको बताए।

नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने निर्णय राम्रो भएको जनाउँदै उनले सरकारले जनताको गुनासो र आलोचनालाई सम्बोधन गर्नुपर्ने बताए। उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको र यो गठबन्धन पाँचै वर्ष रहने जिकिर गरे।

सरकारले ललितानिवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको विदेश भ्रमणले सबै देशसँग कूटनीतिक सन्तुलन कायम भएको बताए।

पार्टीहरूमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र पनि कमजोर हुन पुगेको भन्दै उनले लोकतन्त्रलाई बलियो बनाउँदै जनचाहना पूरा गर्न सबै पार्टीले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको बताए।

जनताको आवाज बुलन्द गर्न नसकेको टिप्पणी गर्दै उनले भने, ‘संसद् जीवन्त र जनमुखी बन्न सकेन, विधेयक पास हुन सकेका छैनन्, संसद्‌मा लोकतन्त्रको अभ्यास हुन जरुरी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.