|

 काठमाडौँ : किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका-५ की कवयित्री रेनुका राई प्रथम भएकी छिन्।

बुधवार वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सुनसरीको धरानमा आयोजित उक्त प्रतियोगितामा उनी प्रथम भएकी हुन्।

यो वर्ष वाम्रासले कोशी नामविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै हाम्रो किराँत प्रदेश ‘इक किरात प्रदेश’ कविता शीर्षक छनोट गरेको थियो। वाम्रासले आयोजना गरेको उक्त प्रतियोगिता वाम्रास जिल्ला कार्यसमिति सुनसरीले व्यवस्थापन गरेको थियो।

प्रतियोगितामा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-३ का कवि कमल किराँती द्वितीय र वडा नं ५ का कवि एवं थाहाखबरकर्मी श्याम राई तृतीय भएका छन्।

धरान उपमहानगर-५ का कवि जगत्‌धन राई र विराटनगरकी कवि शुभकुमारी राईले सान्त्वना पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ६ हजार, तृतीयलाई ४ हजार र सान्त्वना हुने दुईजनालाई २–२ हजार रुपैयाँका साथै प्रमाणपत्र प्रदान गरियो।

१२ जना कविले प्रतियोगितामा भाग लिएका थिए। कार्यक्रमका प्रमुख अतिथि एवं भाषाशास्त्री प्राडा टङ्कप्रसाद न्यौपानेले किराँत समुदाय ठूलो रहेको बताए।

किरात वाम्बुले राईले भाषाको संरक्षण गर्न लागि परेको पनि उनले बताए। यसका निम्ति कविता गोष्ठीले मात्रै नहुने उनको भनाइ छ। उनले सुझाए, ‘कविता लेखेर मात्रै हुँदैन, कथा, निबन्धलगायत विधा पनि हुनुपर्छ। यो विषयमा वाम्रासले सोच्नुपर्छ।’

पछिल्लो समय अन्तरभाषी विवाह, शहरीकरण जस्ता कारणले भाषा, धर्म‚ सस्कृति सङ्कटमा परेको उनको भनाइ छ।

वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईले कोशी नामविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै यो वर्ष वाम्बुले भाषाको कविता प्रतियोगिता धरानमा आयोजना गरिएको बताए। उनले गाउँघरदेखि शहरसम्मै भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्दै आएको बताए।

उनले भने, ‘हामीले यस्ता रचनात्मक काम गरी थुप्रै कवि जन्मायौँ। अब यस्ता खालका कला, संस्कृति रूपान्तरण हुँदै जानुपर्छ। यसको विकासका निम्ति सदैव वाम्रास प्रतिबद्ध छ।’ आफ्नो संस्कार र संस्कृति बचाउने माध्यम एउटा कविता प्रतियोगिता पनि रहेको उनको भनाइ छ।

वाम्बुले राई भाषाको कविता प्रतियोगिता २०५५ सालदेखि ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा आयोजना गरिँदै आएको थियो। २०७७ सालमा कोभिड–१९ का वेला २२औं कविता प्रतियोगिता अनलाइन (भर्चुअल) माध्यमबाट गरिएको थियो। त्यसपछि २०७८ र २०७९ सालमा डेंगुका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.