|
फाइल

पर्वत :  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी शर्मा ओली बिहीबार दिउँसो पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना गरिएको आम सभामा उपस्थित भएर सम्बोधन गर्दै छन्।

नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत कुश्मा स्थित बान्द्रेबिडी  चौरमा आयोजना गरिने आम सभामा सम्बोधन गर्नका लागि आवश्यक सबै तयारी पूरा भएको नेपा (एमाले) पर्वतका सचिव गोविन्द पहाडीले बताए।

बुधबार करिब गुल्मीमा भएको कार्यक्रममा सहभागी भएपछि बुधबार नै बागलुङको गलकोटमा आए बास बसेका ओली बिहीबार बागलुङकै एक कार्यक्रममा सहभागी हुँदै छन्। सचिव पहाडीका अनुसार बागलुङमा आयोजना गरिएको समसामयिक राजनीतिक अवस्थाबारेको बहस कार्यक्रममा सहभागी भएपछि दिउँसो साढे एक बजे कुश्माको कार्यक्रममा आइपुग्ने तयारी छ।

बुधवार करिब एक सय ५० किलोमिटर दुरी पार गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ मा सहभागी टोलीले बिहीबार करिब एक सय २० किलोमिटर दूरी पार गर्ने छ। यात्रामा सहभागी टोलीलाई दिउसो एक बजे पर्वत र बागलुङको सिमाना मालढुंगामा स्वागत गर्ने र दिउँसो तीन बजे पर्वत र कास्कीको सिमाना नयाँपुलबाट बिदाइ गर्ने तयारी छ।

सचिव पहाडीका अनुसार गण्डकी प्रदेशमा पर्वत र लमजुङमा मात्र ठूला आमसभा गरिने भएकाले पर्वतमा हुने आमसभालाई सफल बनाउन सबै जनवर्गीय सङ्गठनहरूलाई सक्रिय पारिएको छ। आमसभामा जिल्लाका सात वटै पालिकाबाट करिब १५ हजार भन्दा धेरै कार्यकर्ताहरूलाई सदरमुकाम उतारिने उनको भनाई छ। प्रत्येक पालिका तथा जनसङ्गठनहरूका छुट्टाछुट्टै जुलुस निकालिने र जुलुस, झाँकी तथा र्‍यालीको मूल्याङ्कन गरी उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ।

सात वटै पालिकाबाट आएका र्‍याली तथा झाँकीहरू कुश्माको बडागाउँमा भेला भएर र्‍याली निकाल्दै बान्द्रेबिडी चौरमा पुगिने सो अवसरमा पर्वतको कला र विशेषताहरू अध्यक्ष ओलीलाई देखाइने प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेलीले बताए।

मध्यपहाडका सामाजिक आर्थिक, सांस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन,स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीमा मङ्सिर १४ गतेबाट एमालेले मध्यपहाडी राजमार्गको यात्रा सुरु गरेको हो। सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित मङ्सिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आउँदो पुस एक गते पाँचथरको चिवाभञ्जयाङमा पुगेर टुङ्गिने छ।

यात्रा अवधिभर अध्यक्ष ओली स्वयं नै सहभागी हुँदै छन्। यात्राका क्रममा केन्द्रबाट करिब दुई सय जनाको टोली सहभागी छ भने सम्बन्धित प्रदेश र जिल्लामा पुग्दा त्यहाँका नेता तथा कार्यकर्ताहरू पनि यात्रामा सहभागी भइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.