काठमाडौँ : स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विष सूचना केन्द्र (पोइजन इन्फर्मेसन सेन्टर) को सेवालाई स्थानीय तहसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
त्रिवि शिक्षण अस्पताल, क्लिनिकल फर्माकोलोजी विभागद्वारा आज (बिहीवार) आयोजित ‘पोइजन इन्फर्मेसन सेन्टर’ को शुभारम्भ गर्दै उनले शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको बताए।
‘यो सेन्टरले विष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिनकै काम गर्नेछ। शिक्षण अस्पतालले उपलब्ध गराएको सम्पर्क नं सबै वडास्तरमा उपलब्ध गराई तत्काल सेवा सञ्चालन हुन्छ,’ मन्त्री बस्नेतले भने।
कार्यक्रममा डा राकेश घिमिरेले नेपालमा वर्षेनि ६ हजार ९३३ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै तीमध्ये १८ देखि २० प्रतिशतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिए।
कार्यक्रममा डा रामु खरेलले सूचना केन्द्रको सहायतामा धेरै मानिसको ज्यान बचाउन सकिने बताए। केन्द्रका अनुसन्धान तथा नीति सह-प्रध्यापक डा प्रदीप ज्ञवालीले मुलुकको भूगोलअनुसार समस्या पहिचान गरी सेवा विस्तार गर्न सकिने बताए।
शिक्षण अस्पतालको क्लिनिकल फर्माकोलोजी विभागले उक्त ‘पोइजन इन्फर्मेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो। विष सेवन गरेकाको उपचारलाई प्रभावकारी बनाएर मृत्यु दर कम गर्न र विज्ञहरुमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्न यो सेन्टरको स्थापना गरिएको हो।
त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने छ। विष सेवनपछिको उपचारका विषयमा जानकारी लिनु परेमा ०१–४५०२०११ मा फोन गर्न सकिने विभागले जनाएको छ।
विष सेवनपछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नेपालको पहिलो सेन्टर भएको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।