पर्वत : नेपाल पर्वतारोहण संघले अन्तरराष्ट्रिय पर्वतीय दिवसको अवसरमा वर्षेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रवार पोखरामा शुरु हुँदै छ।
पोखरा अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने छन्। महोत्सवको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्ने कार्यक्रम छ।
आयोजक नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवको पहिलो दिन शुक्रवार नेपाल पक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइनेछ।
‘गिद्धको महत्व र उपयोगिताबारे बालबालिकाले नै नाटकबाट प्रस्तुत गर्ने छन्,’ उनले भने।
महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र देखाइने सिन्दुराकारले जानकारी दिए।
महोत्सवमा ‘पासाङ’, ‘माउन्टेन म्यान’, ‘सोफी लाभाड’, ‘द सेकेन्ड समिट’, ‘अई–डेला हट्स भ्यालिस’ र ‘एभरेस्ट म्यान’ वृत्तचित्र प्रदर्शन गरिनेछ।
महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे पनि बहस हुने भएको छ।
‘हिमाल किन कालो हुँदै छ? के यो परिवर्तनको हाम्रो जीवनसँग सम्बन्ध छ?‚’ शीर्षकमा डब्लूडब्लूएफका डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दीक्षितले वार्तालाप गर्ने छन्। उक्त बहस डिसेम्बर ११ मा दिउँसो १ बजे हुनेछ।
महोत्सवकै अवसरमा फरक–फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा. इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीहरुको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन्।
प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ। ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन्।
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय रातो पैह्रोमा आयोजना हुने महोत्सवका अघिल्ला संस्करणहरू ३ दिन आयोजना गरिएका भए पनि यस वर्ष भने ५ दिन गर्न लागिएको छ।
संयुक्त राष्ट्र सङ्घले डिसेम्बर ११ लाई अन्तरराष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ। सोही दिन पारेर नेपाल पर्वतारोहण सङ्घले ८ वर्षदेखि पर्वतीय महोत्सव निरन्तर गर्दै आएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।