काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन 'अनन्त'ले एनसेल खरिद-बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको बताएका छन्।
शुक्रवार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्ने गरी ठूलो आर्थिक चलखेल भएको बताएका हुन्।
सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउन नमिल्ने भन्दै उनले बदमासी पुष्टि हुने आधार सरकारसँग रहेको बताए।
पुनले आफ्ना पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको भन्दै तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न कोही पनि दोषी नउम्कने गरी कारबाही गरिने बताए।
वर्तमान सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै उनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियान त्यसको ज्वलन्त उदाहरण भएको बताए।
अघिल्ला प्रकरणमा जस्तै एनसेल प्रकरणमा पनि सरकारले दृढतापूर्वक काम गर्ने र दोषी कारबाहीमा पर्ने उनको भनाइ थियो। पुनले केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमासमेत सरकार रहेको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।