|

काठमाडौं : वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत लैजाने सरकारी प्रक्रिया जम्मा ४५ जना नेपाली नर्सले पार गरेका छन् ।

यसअघि  नेपाल र बेलायतबीच नेपालबाट नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तरवार्ताका लागि ७१ जना नर्स छनोट भएका थिए। यसमध्ये जम्मा ४५ जना नर्समात्र रोजगारीका लागि बेलायत जान योग्य भएको  वैदेशिक रोजगार विभागले जनाएको छ। 

विभागका अनुसार ७१ जनामध्ये ६० जनाले मात्रै प्रत्यक्ष उपस्थित भएर अन्तरवार्ता दिएको र त्यसमध्ये पनि ४५ जना मात्र पास भएका हुन्।

बेलायत सरकारले जीटूजी प्रक्रियाअन्तर्गत रोजगारीका लागि नेपाली नर्स  खोजेको हो। 

पहिलो चरणमा ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायतसँग समझदारी भएअनुसार आवेदन खोलिए पनि पहिलो चरणमा लैजान खोजिएभन्दा आधा संख्यामा नर्सहरु रोजगारीको लागि  बेलायत जना योग्य भएका हुन्। 

काठमाडौँस्थित बेलायती दूतावासमा उनीहरूको अन्तरवार्ता लिइएको थियो। त्यसका लागि बेलायतको ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले आमनेसामने अन्तर्वार्ता दिएका थिए। त्यसबाट ४५ जना नर्स रोजगारीका लागि बेलायत जान योग्य भएका हुन्। 

सफल नर्सहरूलाई छिट्टै उनीहरूको छनोटको बारेमा सूचित गरिने विभागले जनाएको छ। अर्को चरणहरूमा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी दिइनेछ। सन् २०२४ को पहिलो त्रैमासिकदेखि नर्सहरू बेलायत पठाइने विभागले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

बेलायतमा काम गर्न जान कम्तीमा २ वर्ष काम गरेको अनुभव र अङ्ग्रेजी भाषामा दक्खल भएको, कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान थियो।

इन्टरन्याशनल इङलिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ।

बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, ५ वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.