माओवादी निल भएका जिल्लामा कति छन् केन्द्रीय सदस्य?

|

काठमाडौं : वैशाख ३१ र असार १४ गरी मुलुकका ६ प्रदेशमा निर्वाचन सकिँदा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले ८४ स्थानमा विजय हासिल गरेको छ। पहिलो चरणमा २ सय ८३ स्थानीय तहमध्ये ४६ तहमा मात्र प्रमुख पद जितेको माओवादीले दोस्रो चरणमा ३३४ तहमा चुनाव हादा ३८ स्थानमा मात्र जित हासिल गर्‍यो।   

दुइ चरणमा गरी सम्पन्न निर्वाचनमा माओवादी केन्द्रले २२ जिल्लामा एक स्थान पनि ल्याउन सकेन। पहिलो चरणमा चुनाव भएका रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, मनाङ, मुस्ताङ, कास्की, स्याङ्जा, म्याग्दी, मुगु र सुर्खेतको एउटा पनि स्थानीय तहमा माओवादी विजयी हुन सकेन। दोस्रो चरणमा चुनाव भएका झापा, सुनसरी, ताप्लेजुङ, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, कपिलवस्तु, पाल्पा, बाजुरा र बझाङमा माओवादीले एउटा तहमा पनि जित हासिल गर्न सकेन।

२०७३ सालको जेठमा माओवादीका विभिन्न घटकहरुबीच एकीकरण भएपछि पार्टीको केन्द्रीय समिति बढ्दै ३ हजार ९९९ सदस्यीय बनेको छ। एकै जिल्लामा एक सय भन्दा धेरै केन्द्रीय सदस्य छन्। तर धेरै केन्द्रीय सदस्य रहेका जिल्लामा नै माओवादीको नतिजा शून्य छ। माओवादीले पहिलो र दोस्रो चरणमा गरी एउटै स्थानीय तह जित्न नसकेका २२ जिल्लामा ६ देखि १४० जनासम्म केन्द्रीय सदस्य भएको पाइएको छ।  

माओवादी हेडक्वार्टर समितिका सदस्य चक्रपाणि खनाल बलदेवको गृहनगर कपिलवस्तुको बाणगंगा नगरपालिकामा माओवादी केन्द्रले जम्मा एउटा वडाको अध्यक्ष पद मात्र जित्यो। बलदेवको घर रहेको वडा नम्बर ७ मा माओवादी पराजित भयो। माओवादी पोलिटव्यूरो सदस्य गिरधारीलाल न्यौपाने र सार्वजनिक लेखा समितिका सभापति समेत रहेका सांसद डोरप्रसाद उपाध्यायको घर पनि यहीँ नगरपालिकामा पर्छ। उनीहरुसहित कपिलवस्तुका ५८ केन्द्रीय सदस्यमध्ये २५ बढी यही वाणगंगा नगरपालिकाका छन्। यस नगरपालिकामा माओवादीले वडा नम्बर  ११ को वडा अध्यक्ष मात्रै जित्यो। नगरपालिका प्रमुखमा थोरै मतान्तरले नेपाली कांग्रेस विजयी भयो।  

यतिका धेरै संख्यामा केन्द्रीय सदस्य भएको ठाउँमा पनि किन माओवादीको जनमत देखिएन? माओवादी केन्द्र कपिलवस्तुका नेता भानुप्रकाश श्रेष्ठले संगठनात्मक रुपमा माओवादी कमजोर रहेको बताए। उनले भने ‘एकातिर संगठन कमजोर छ। अर्कोतिर पार्टी विभाजनको असर सबैतिर परेको छ। त्यसैले चुनावमा अपेक्षित मत आउन नसकेको हो।’

एक सय १५ जना केन्द्रीय सदस्य रहेको कास्की जिल्लामा पनि माओवादी केन्द्रले कुनै स्थानीय तह जित्न सकेन। केन्द्रीय सदस्य धेरै भए पनि धेरै जिल्लामा तल्लो कमिटी व्यवस्थित नभएको माओवादी केन्द्रका नेता देव गुरुङ बताउँछन्। ‘जति केन्द्रीय कमिटी छ, पार्टी त्यत्तिमा सीमित छ। पार्टीको लागि संगठन बनाउन गाउँ गाउँ जानेहरु शहरमुखी भएर बसेका छन्। संगठन धेरै नै कमजोर छ’ उनले भने।  

पार्टीमा नियमित काम गर्ने नेता कार्यकर्ताहरु नभएको बताउँदै उनले बिघटन र बिसर्जनको अवस्थामा पार्टी पुगेको भन्दै चिन्ता व्यक्त गरे। पार्टीबाट बाहिर जान्छ कि भनेर पद दिएर थामथुम पारिदिएका नेता कार्यकर्ताले पार्टीको संगठन र विचार बचाउन नसक्ने नेता गुरुङको तर्क छ। अब हुने पार्टीको बैठकमा यस बारेमा समीक्षा गरिने उनले बताए। 

माओवादी केन्द्रका अर्का नेता गोपाल किरातीले भने आफूहरुले अधिकतम कोशिस गर्दागर्दै पनि अपेक्षित परिणाम नआएको तर्क गरे। ‘हामीले चुनाव हारेका होइनौ,’ थाहा खबरसँग कुरा गर्दै नेता किरातीले भने ‘हामीलाई हराइएको हो।’ परिवर्तन नचाहने र यथास्थितिमै रहन चाहनेहरुले साम, दाम, दण्ड र भेद गरी आफ्नो पार्टीलाई हराएको उनको जिकिर छ। 

रुसमा लेनिनको पार्टीलाई चुनाव हराएपछि उनले सशस्त्र विद्रोह गरेको उदाहरण किरातीले दिए। उनले त्यस प्रशंग जोड्दै भने ‘अबको एक दशक यस्तै शान्तिपूर्ण रुपमा परिवर्तन स्थापित गर्न लागिपर्ने र आउने चुनावहरुमा पनि यसैगरी आफ्नो पार्टीलाई हराएमा दोश्रो विकल्प रोज्न बाध्य हुनेछौं।’

स्थानीय तह जित्न नसकेका २२ जिल्लामा माओवादी केन्द्रीय सदस्य कति?

१. झापा : ६१ केन्द्रीय सदस्य

२. सुनसरी : ५९ केन्द्रीय सदस्य

३. इलामः २३ केन्द्रीय सदस्य

४. ताप्लेजुङ : २२ केन्द्रीय सदस्य

५. संखुवासभाः १७ केन्द्रीय सदस्य

६. तेह्रथुमः १८ केन्द्रीय सदस्य

७. धनकुटाः २२ केन्द्रीय सदस्य

८. रसुवाः १९ केन्द्रीय सदस्य 

९. दोलखाः ५१ केन्द्रीय सदस्य

१०. काठमाडौंः १४० केन्द्रीय सदस्य 

११. भक्तपुरः २४ केन्द्रीय सदस्य

१२. मनाङः ६ केन्द्रीय सदस्य

१३. मुस्ताङः ६ केन्द्रीय सदस्य

१४. कास्कीः ११५ केन्द्रीय सदस्य

१५. स्याङ्जाः ३७ केन्द्रीय सदस्य

१६. म्याग्दीः १६ केन्द्रीय सदस्य

१७. कपिलवस्तुः ५८ केन्द्रीय सदस्य

१८. पाल्पाः २५ केन्द्रीय सदस्य

१९. मुगुः ४५ केन्द्रीय सदस्य

२०. सुर्खेतः ३८ केन्द्रीय सदस्य

२१. बाजुराः ७ केन्द्रीय सदस्य

२२. बझाङः ३१ केन्द्रीय सदस्य

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Parbat ma pani kaha jityo tah ni Maoist le, You left Parbat too. Still your statistics and report is incomplete. Please try to post real scenario as much as possible. Indeed, this is factual good analysis.

  • CCM pani ward ma ? Never never! , Jillama gayera katai nathe talla karyakarta sanga vote magne larko ma hidne? yaso 1-2 din VIP vayera check po garne ta. yo utikherai gham jattikai 6arlangai thiyo,ramra kura sunidaina? All total CCM 151 vanda badhi nabanau. Ward ko haisiyat navayeka haru CCM vayeko Dambha gar6an. vutrako Jit6an ta? Dhanya 84 thau ayo patyaudai 6an janatale. Jiteka thau namuna banau. Kamau dhandama lageka karyakarta timra hoinan tinlai karbahi gara.