|

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने चेतावनी दिएका छन्। बुधवार ४० बुँदे ज्ञापनपत्र सिंहदरबारमा प्रधानमन्त्रीलाई बुझाउँदै जनदबाबका कार्यक्रमको शुरु गरेका उनले यस्तो चेतावनी दिएका हुन्। 

उनले ललितानिवास जग्गा प्रकरण, सुन काण्ड, नक्कली भूटानी शरणार्थी प्रकरण, बाइडबडी लगायतका भ्रष्टाचार प्रकरणमा फेरि र पूर्ण छानबिन गर्न माग गरेको बताए।

‘ललितानिवास जग्गा प्रकरण, सुन काण्ड, नक्कली भूटानी शरणार्थी प्रकरण, बाइडबडीलगायतका काण्डहरुको पुनः र पूर्ण छानबिनको कुरा उठाएका छौँ‚’ उनले भने‚ ‘हामी यो आन्दोलनलाई सशक्त रुपमा लैजान्छौँ र सरकारले राप्रपका मागको उपेक्षा गरियो भने त्यो कठोर बन्दै विद्रोहसम्म जानसक्छ।’

उनले औपचारिक रुपमा जनदबाबका कार्यक्रम शुरु गरेको बताए। उनले ज्ञापनपत्रमा देशको समसामयिक राजनीति र परिस्थितिबारे उल्लेख गरिएको बताए। 

उनले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गरे। उनले देशलाई नविन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताए।

उनले सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापनपत्रमा सुझाव दिएको बताए। उनले अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने आफूहरुको माग रहेको बताए।

उनले धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्या कटौती गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने बताए। उनले बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव दिएको पनि बताए। उनले राप्रपाका मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको बताए।

‘आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र दिएका छौँ र औपचारिक रुपमा जनदबाबका कार्यक्रम शुरु गरेका छौँ। देशले नयाँ बाटो लिओस्‚ अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ‚’ उनले भने, ‘धर्मान्तरण निषेध गर्नुपर्छ। जनप्रतिनिधिको संख्या व्यापक कटौती हुनुपर्छ। पहिला प्रदेश तह खारेज हुनुपर्छ। केन्द्र र बलियो स्थानीय तह बन्नुपर्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.