काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्सविरुद्धको खेल ज्यान लगाएर खेल्ने र जित हात पार्ने बताएका छन्।
बुधवार नामिबियासँग २ विकेटको हारपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्। उनले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसाबले खेल्न नसकेको स्वीकार्दै आफ्नो जिम्मेवारी लिने बताए।
उनले दीपेन्द्रसिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको बताए। उनले आगामी खेलका लागि सबैजना जित्नैपर्ने मनोबल लिएर बसेको बताए।
‘मेरो भूमिकाले एकदमै डिस्पोइन्टेड भयो, म जिम्मेवारी लिन्छु। म शून्यमा आउट हुनु नै एउटा नराम्रो पक्ष थियो। सोचेजस्तो शुरुवात भयो तर पावर प्लेमा नै हामीले ३ विकेट गुमायौँ‚’ उनले भने, ‘त्यसपछि पनि एउटा पार्टनरसिप भयो, त्यसपछि मेरो, दिपी दाईको विकेट गयो। त्यसले गर्दा १७० भित्रै समेटियौँ। ब्याटिङ अर्डरलाई लिएर क्लियर छौँ। आजको हारले गर्दा सबैजना मोटिभेटेड छन्‚ अन्तिम गेमलाई लिएर। अन्तिम गेममा बेस्ट क्रिकेट खेल्नेछौँ।’
नेपालले आईसीसी विश्वकप लिग-२ को पहिलो खेलमा नामिबियासँग नै ४ विकेटको हार बेहोरेको थियो।
दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा फेरि नामिबियासँगै २ विकेटले पराजित भएको छ।
नेपालले त्रिदेशीय शृंखलाअन्तरगतको आफ्नो अन्तिम खेल आइतवार कीर्तिपुरस्थित त्रिवि मैदानमा नै खेल्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।