रक्तस्रावपछि अस्पताल भर्ना
रक्तस्रावपछि अस्पताल भर्ना
काठमाडौँ : रक्तस्राव भएपछि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरी गर्ने महिलालाई अस्तपाल भर्ना गरिएको छ।
शिशु चोरीमा संलग्न दैलेख घर भएकी मनकुमारी सिंहलाई सिनामंगलरस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
उनले शुक्रबार विहान ११ : ४० बजेको समयमा काभ्रेकी सविना श्रेष्ठको २६ दिने शिशु चोरेर लगेकी थिइन्। उक्त सूचनापछि खोजतलासमा निस्किएको प्रहरीले उनलाई राति ११ : ३९ बजे काँडाघारीबाट समातेको थियो। प्रहरीले शिशुको उद्धार गरी परिवारको जिम्मा लगाइसकेको छ।
शिशु एकछिन बोकिदिन्छु भन्दै मागेकी सिंहले लिएर हिँडेको सिसी टिभी फुटेजमा देखिन्छ। उनका पति र दिदीलाई पनि सोधपुछका लागि ल्याइएको प्रहरीले जनाएको छ। प्रहरी नियन्त्रणमा रहेकै बेला उच्च रक्तस्राव भएपछि आज उनलाई अस्पताल लगिएको अधिकारीले बताए।
प्राप्त सूचना अनुसार केही अघि मात्रै उनको गर्भपतन भएको पाइएको छ। उनका परिवारले दिएको जानकारी अनुसार उनी सात महिनाकी गर्भवती थिइन्। गर्भ खेर भएपछि उनले मानसिक तनावका कारण यस्तो घटना घटाएको हुनसक्ने अनुमान गरिएको छ।
उनले शिशु चोरी गरेर कोठामा लैजाँदा बच्चा जन्मियो भनेर परिवारलाई बताएकी थिइन्। प्रहरी पुगेपछि मात्रै उनले झुटा बोलेको थाहा भएको परिवारले बताएका अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।
उनीमाथि के मुद्दा लगाउने भनेर प्रहरीले यकिन गरेको छैन। सोधपुछको काम सकिएपछि एउटा निष्कर्षमा पुगिने प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।