|

काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँगको सहकार्य नलम्ब्याउने तयारीमा लागेको छ। आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेस महासमिति बैठकको निर्णयले माओवादी सहकार्य नलम्ब्याउने तयारीमा लागेको हो। 

राष्ट्रियसभा चुनावमा कांग्रेसले धोका दिएको निष्कर्ष निकालेको माओवादीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई नदिने बताएको छ। 

आज (मंगलवार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेका स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पार्टीले छोड्न नहुने मत राखेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

माओवादी स्थायी कमिटी बैठकमा कांग्रेस महासमितिबारे समीक्षासमेत भएको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले महासमितिमा प्रस्तुत गरेको प्रतिवेदनलाई लिएर माओवादी स्थायी कमिटी सदस्यहरुले आलोचना गरेका छन्।

आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेसम्बन्धमा कांग्रेस महासमिति बैठकको निर्णयबारे पनि बैठकमा छलफल भएको प्रवक्ता सापकोटाले सुनाए।

माओवादी स्थायी समितिमा कांग्रेसको गतिविधिबारे समीक्षा हुँदै गर्दा के कांग्रेससँगको सहकार्य लामो नजाने हो भन्ने थाहाखबरको प्रश्नमा माओवादी सचिव गणेश शाहले महासमितिका प्रतिवेदन केन्द्रीय समितिमा कसरी पेश हुन्छ त्यसका आधारमा छलफल हुने बताए। उनले अहिले भने गठबन्धन सुदृढ बनाउन प्रयास भइरहेको बताए।

माओवादी स्थायी समिति बैठक भोलि विहान साढे ८ बजे फेरि बस्नेछ। आजको बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ।

कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ।

यस्तै, प्रवासअन्तरगत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ।

विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ। भोलि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएर निर्णय गरेर बैठक समापन गर्ने तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.