काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गरेका छन्।
शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानले मूल्य नपाएर दूध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसद्मा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गरे।
उनले मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाव दिए। कानून निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो। उनले दूध किसान र मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि भइरहेको कार्यबारे तत्काल संसद्लाई जानकारी गराउन पनि सरकारलाई सचेत गराए।
सांसद बडूले भने, ‘केही दिनयता निरन्तर किसानहरूले दूध सडकमा फालिरहेका छन्। यस्तो हृदयविदारक देखेर यो सरकारको मन किन छुँदैन ? कृषिमन्त्री कहाँ हुनुहुन्छ ? समस्याका निराकरणका निम्ति के गर्दै छ सरकार? मिटरब्याज पीडितका समस्या समाधान गर्न हामीले पछिल्लो संसद्बाट कानून बनायौं तर सबैतिरबाट काठमाडौं धाउनुपर्ने अवस्था किन रह्यो ? कानून कार्यान्वयन गर्न सरकारले सकेको छैन भने यो अर्को गम्भीर विषय हो। सरकारले यी सबै विषयमा संसद्मा जवाफ दिनुपर्यो ?’
सांसद बडूले मिटरब्याज सम्बन्धी कानूनमा कुनै त्रुटि भए तत्काल सच्याउन पनि सरकारको ध्यानाकर्षण गराए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।