|

ललितपुर : शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन एपी पावर चर्च ब्वाइज युनाइटेड एफसी र अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने नेपालीले सञ्चालन गरेको रोयल वेस्टर्नर्स क्लबबीच सम्झौता भएको छ।

दुई क्लबबीच छोटो अवधिका लागि खेलाडी, प्रशिक्षक तथा प्रविधि आदानप्रदान गर्ने विषयमा सम्झौता भएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सम्झौता पत्रमा चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र रोयल वेस्टर्नर्स क्लबका अध्यक्ष रोशन दाहालले हस्ताक्षर गरे। 

सम्झौता पत्र आदानप्रदानसहित दुबै क्लबको जर्सी पनि साटासाट गरिएको थियो। 

चर्च ब्वाइजका अध्यक्ष राईले फुटबल खेलाडीको विदेश पलायन रोक्नुपर्ने बताए। उनले विदेशमा गएर खेल्ने वातावरण बनाउन यो सम्झौता गरेको बताए।

‘फुटबल खेल्न जाने हो कि श्रम गर्न जाने हो,’ उनले भने‚ ‘यो विषय अहिले पेचिलो बनेको छ। हामीले वेस्टर्नर्स क्लबसँग सम्झौता गरेर त्यहाँ फुटबल खेल्न खेलाडी पठाउँछौँ र त्यहाँका खेलाडी यहाँ लिग खेल्नसमेत ल्याउँछौँ।’

‘नेपाली मूलका अष्ट्रेलियनहरुको प्रतिभा नेपालको झण्डामुनि देखाउने हाम्रो प्रयास हो,’ वेस्टर्नर्स क्लबका अध्यक्ष रोशन दाहालले भने।

नेपालमा खेल हुँदा वेस्टर्नर्स क्लबले खेलाडीको प्लेन टिकटको मूल्य बेहोर्ने र बाँकी खाने बस्ने चर्च ब्वाइजले गर्ने तथा अष्ट्रेलिया जाँदा प्लेन टिकट चर्च ब्वाइजले बेहोर्ने र खाने बस्ने वेस्टर्नर्सले बेहोर्ने सहमति भएको छ।

सम्झौता कार्यक्रममा उपस्थित राष्ट्रिय फुटबल टोलीका ब्यवस्थापक उत्तम भण्डारीले यो सम्झौताले नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान दिने बताए। 

‘नेपालको लिग च्याम्पियन क्लब र अष्ट्रेलियाको क्लबबीच भएको यो सहकार्यले आगामी दिनमा नेपालबाट प्रतिभा पलायनको समस्यामा निकास दिन सहयोगी भूमिका निर्वाह गर्नेछ,’ उनले भने, ‘नेपाली फुटबल विकासको अभियानमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.